ज्यान जोखिममा राखेर परेवा भिर छिचाेल्नुपर्ने बाध्यता

 साउन ९, २०७६ बिहिबार १९:२६:२६ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा - मकवानपुरको उत्तर पश्चिम क्षेत्रका दुर्गम बस्तीका बासिन्दाहरु बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रशासनिक काम तथा दैनिक उपभोग्य सामग्रीहरुको खरिदका लागि पैदल हिँडेर गाउँपालिका केन्द्र र मनहरी बजार पुग्न उनीहरुलाई समस्या भएको छ ।राक्सिराङ र कैलाश गाउँपालिकाका केही वडाका बासिन्दाहरु बर्खायाममा ज्यान जोखिममा राखी यात्रा गर्न बाध्य भइरहेका हुन् ।

हिउँद महिनाभर मनहरी खोलाको बगरमा बन्ने अस्थायी सडकमा चल्ने बसमा यात्रा गर्ने उनीहरुको जीवन बर्खा लाग्नासाथ कष्टकर हुन थाल्छ । राक्सिराङ गाउँपालिका वडा नम्बर-४, देविटार, पन्जनी, मन्छाप तथा वडा नम्बर-९ को खैराङ, कात्तिके, कैलाश गाउँपालिकाको वडा नम्बर-७ को ताम्लाङ, डोकोटार, वडा नम्बर-८ को भार्तालगायत गाउँहरुमा रहेका दर्जनौँ बस्तीमा मानिसहरुका लागि बर्खायाममा पैदल हिँड्ने गतिलो बाटोसमेत छैन ।

खोलाका किनारमा पन्चायतकालमै निर्माण भएको पैदलमार्गमा हिँड्दा राक्सिराङ गाउँपालिका वडा नम्बर-५मा रहेकाे पन्जनी भिरबाट कष्टकर यात्रा गर्नुपरेको स्थानीय शिक्षक दिनेश ब्लोन बताउनुहुन्छ । पहाडैपहाडको परेवा भीर र त्यसमुनि उर्लिरहेको मनहरी खोलाको बीचबाट स्थानीय बासिन्दाहरुले यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

‘गाउँमा मान्छे बिरामी हुँदा डोकोमा बोकेर ल्याउन सकिने अवस्था पनि छैन’, ब्लोन भन्नुहुन्छ । यो बाटो भएर अहिले पनि दैनिक पाँचसयभन्दा बढी मानिसहरु आवत जावत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

‘महिला तथा बालबालिकाहरु त यो बाटो हिँड्नै सक्दैनन्, लक्का जवान मानिसहरु समूह बनाएर मनहरी बजारसम्म आउने जाने गरेका छौँ ’, उहाँले भन्नुभयाे । 
राजनीतिक व्यवस्था परिवर्तनसँगै नयाँ देश संरचनामा गए पनि गाउँलेले अझै सडक सुविधा नपाएको राक्सिराङ गाउँपालिकाका युवा नेता बनस्तम थिङ बताउनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य समेत रहेका थिङले जनताका यस्तै समस्या समाधानका लागि जनस्तरबाट माग गरिए पनि सुनुवाइ हुन नसकेको भन्दै यसबारे केन्द्र, स्थानीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको सुनाउनुभयो ।

मनहरीबाट राक्सिराङ हुँदै डाँडाबास पुग्ने सडक खण्डलाई नै सुधार गरेर मलेखु पुग्नेगरी विकास गर्ने योजना अघि बढाइएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँले मनहरीबाट पेङ्चे सडक हुँदै राक्सिराङ गाउँपालिका वडा नम्बर-५ को बमकिम हुँदै मन्छाप पुग्ने गरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताउनुभयो । 

तर, त्यस खण्डभित्र परेवा भिरको खण्ड नपर्ने भएपछि  यस वर्ष फेरि राक्सिराङ वडा नम्बर-४ को परेवा भिर हुँदै रतुवासम्म पुग्नेगरी सडक निर्माण गर्न १ करोड बजेट छुट्याइएको मल्लले बताउनुभयो । ‘परेवा भिर खण्डमा बर्खायाममा मानिसहरु सँधै जीवन जोखिममा राखेर हिँड्न बाध्य छन्’, अध्यक्ष मल्ल भन्नुहुन्छ, ‘म आफैँ पनि दर्जनौँपटक त्यसैगरी हिँडेको छु ।’

चालु आर्थिक वर्षमै काम सुरु हुने भएपछि अर्काे बर्खायाममा यात्रुहरुले त्यस्तो समस्या भोग्न नपर्ने गरी काम गरिने मल्लले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया