कोरियामा आफूले पाउने जति तलब नेपालमा कामदारलाई दिन पाउँदा दंग मनोज

 साउन १०, २०७६ शुक्रबार १७:१३:२५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – विश्वकै सबैभन्दा धनी व्यक्ति तथा अनलाइन नेटवर्किङ कम्पनी ‘अमेजन’का संस्थापक जेफ बेजोस हुन् या ट्विटरका सह–संस्थापक इभन विलियम्स ।

धेरै सफल व्यवसायीहरुको सुरुवात पहिलो व्यवसायको असफलतासँगै अघि बढेको छ । यस्तै भयो मनोजको पनि । कुनै समय पसल नचलेर कोरिया गएका बारा निजगढका मनोज भारती अहिले आफ्नै देशमा ९० जना कामदारलाई रोजगारी दिनुहुन्छ । 

बाराको निजगढ । १२ कक्षा पास गरेर घरमै बस्नुभएको थियो, मनोज । बिहे भयो । दुई छोरा भए । जिम्मेवारी बढ्न थाल्यो । त्यसपछि सुरु गर्नुभयो ‘गिफ्ट’ पसल । 
यो आजभन्दा १५ वर्षअघिको कुरा हो । त्यतिबेला त्यस क्षेत्रमा गिफ्ट सामान पाइने पसल नदेखेपछि मनोजले लागेको थियो, पक्कै पनि गिफ्ट पसल चल्छ । तर उहाँले सोचेजस्तो भएन । पसल चलेन । 

पसल पनि नचलेपछि दिन बिताउनै मुश्किल हुन थाल्यो । अब के गर्ने त ? साथीभाइले सल्लाह दिए, ‘कोरियामा राम्रो कमाइ हुन्छ, त्यतै जा ।’ साथीहरुको सल्लाह मान्नुभयो र कोरिया पुग्नुभयो ।

कोरियामा श्रमिकदेखि नेपालमा व्यवसायीसम्मको यात्रा

सन् २००५ को डिसेम्बर १२ मा कोरिया जाँदा अहिले जस्तो ईपीएस प्रणाली सुरु भइसकेको थिएन । म्यानपावरलाई तीन लाख रुपैयाँ दिएर उहाँ कोरिया उड्नुभयो । 
त्यहाँ गएर सुरुमा नटबोल्ट बनाउने काम गुर्नभयो । त्यतिबेला महिनाको ४० हजार रुपैयाँ कमाइ हुन्थ्यो । उहाँले टेक्स्टाइल र पानीजहाज कम्पनीमा पनि काम गर्नुभयो ।

उड्ने चरी जहाँ गए पनि आखिर आफ्नै गुँडमा भनेजस्तै कोरिया ७ वर्ष बसेपछि उहाँ नेपालमै फर्किनुभयो, २०१२ डिसेम्बरमा । कोरियामा छँदा उहाँले जापान र अमेरिकाको लागि पनि भिसा लगाइसक्नुभएको थियो । कम्पनीको नजरमा मनोजको काम राम्रो थियो । त्यही भएर कम्पनीकै तर्फबाट भिसा लगाउन सजिलो भयो मनोजलाई । 

‘म १४ जना कामदारको सुपरभाइजर भएर काम गर्थें’, मनोजले सम्झनुभयो, ‘कम्पनीले मलाई विश्वास गथ्र्यो, त्यही विश्वासका कारण मैले भिसा लगाउन सकेको थिएँ ।’
समयसँगै चाहना पनि परिवर्तन भइरहन्छन् । कुनैबेला कोरियापछि जापान र अमेरिका जान्छु भन्ने मनसाय बनाउनुभएका मनोज अन्त्यमा अमेरिका नजाने हुनुभयो ।
भनौँ, जापान र अमेरिकाको भिसाले मन तानेन मनोजको । अमेरिका गएर अर्काको काम गर्नुभन्दा आफ्नै देशमा रहेर अरुलाई जागिर दिने सपना बनाइसक्नुभएको थियो ।

‘मैले कोरियामा ५ वर्ष बस्दा विदेशको दुःख भोगिसकेको थिएँ, अब स्वदेशमै केही गर्छु भन्ने अठोट थियो’ उहाँले अमेरिका जान नचाहनुको कारण बताउनुभयो । त्यतिबेला उहाँले नेपालमै केही गर्ने सोचिरहनुभएको थियो ।

६ वर्ष कोरिया बसेर फर्केपछि मनोजसँग लगानी गर्नको लागि केही पैसा थियो नै । पैसा भन्दा पनि बढी जाँगर र आत्मविश्वास थियो । मिलेर काम गर्न अरु साथीहरुले पनि इच्छा देखाए । अनि त के चाहियो र ! पाँच जनाले पाँच /पाँच लाख रुपैयाँ जम्मा पारेर २५ लाखमा गार्मेन्ट उद्योग सुरु गर्नुभयो, बागबजारमा । नाम राख्नुभयो, ‘फिटवेल’ ।

नेपाल आएको तीन महिनामै उहाँले आफ्नो व्यवसाय गर्न थाल्नुभयो । ‘लामो समयसम्म बसेपछि पैसा पनि सकिन्छ र मनस्थिति पनि परिवर्तन हुन्छ भन्ने लागेर तत्कालै काम सुरु गरेको थिएँ’, उहाँले भन्नुभयो ।

सफल उद्यमीहरुको सुरुवाती क्षण घाटाबाट गुज्रिएको हुन्छ भन्ने सिद्धान्त मनोजको जीवनमा फेरि लागू भयो ।

शुरुका दुई वर्ष घाटा व्यहोर्नुपर्यो । लगानी गर्ने साथीहरु बिस्तारै पन्छिए । तर मनोजले हार मान्नुभएन । उहाँ एक्लैले आत्मविश्वासका साथ कडा मेहनत गर्नुभयो । 
बागबजारको एक कोठाबाट सुरु भएको गार्मेन्ट उद्योगले अहिलेसम्म आइपुग्दा निकै ठूलो फड्को मारिसकेको छ ।  

पछिल्लो पटकको चुनावमा म्यादी प्रहरीको ड्रेस मनोजकै उद्योग ‘फिटवेल’मा निर्माण भए । राष्ट्रिय स्तरका खेलकुदहरुमा खेलाडीले लगाउने जर्सी बनाउने जिम्मा पनि धेरै पटक मनोजको कम्पनीले पाइसकेको छ ।

आफ्नै ब्राण्ड ‘फिटवेल’को जर्सीमा सजिएका खेलाडीहरुले मेडल समातेको फोटो कहिलेकाँही पत्रिकामा देख्दा मनोजका आँखाबाट खुशीका आँसु झर्छन् ।

‘नेपाली सेनादेखि राष्ट्रिय स्तरका खेलाडीले हाम्रै कम्पनीबाट उत्पादित ट्रयाकसुट लगाउँछन्, यही नै मेरो व्यवसायको उपलब्धि हो जस्तो लाग्छ’, मनोजले एक नजर आफ्नो फ्याक्ट्रीमा लगाउँदै भन्नुभयो, ‘कुनै व्यवसायीका लागि यो भन्दा ठूलो गर्वको कुरा अरु के हुन सक्छ ?’

स्थापित युवा उद्यमी

सानो र फुर्तिलो ज्यान । हल्का गहुँगोरो वर्ण । मुहारमा सदाबहार मुस्कान । मिजासिला र सहयोगी स्वभावका मनोज जीवनको ४५ औँ वसन्त पार गर्दा पनि ३०/३२ वर्षको तन्नेरी देखिनुहुन्छ ।

आखिर के हो त तन्नेरीपनको राज भन्ने प्रश्नमा उहाँको सटिक जवाफ छ, ‘लगनशिलता, सहभाव अनि सामाज सेवा ।’

उहाँ आफ्नो व्यवसायमा लगनशील हुनुहुन्छ, आफ्ना कामदारहरुसँग सहभावको सम्बन्ध छ र सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । ‘यति भएपछि मानिसलाई सन्तुष्टि मिल्छ र मान्छे तन्नेरी देखिन्छ’ उहाँले मुस्कुराउँदै भन्नुभयो ।

उहाँ जति आफू तन्नेरी देखिनुहुन्छ, त्यतिकै उर्जाशील र तन्नेरी बनाइराख्नुभएको छ आफ्नो व्यवसायलाई पनि । ‘फिटवेल’ गार्मेन्ट सञ्चालन भएको ६ वर्ष भयो । छोटो समयमा उहाँले धेरै प्रगति गर्नुभएको छ । 

बागबजारको एउटा कोठामा स्थापित कम्पनी अहिले आफ्नै भवनमा सञ्चालन भइरहेको छ । नागार्जुन नगरपालिकाको रामकोटमा २१ आनाको जग्गामा ‘फिटवेल’को आफ्नै भवन छ । 

एउटा ठूलो हलमा ७० वटा सिलाइ गर्ने मेसिन छन् । सामान भण्डारण गर्ने, कपडामा पेन्टिङ गर्ने, आइरन गर्ने छुट्टाछुटटै कोठाहरु छन् । ती सबै कोठाहरुमा अलगअलग मेसिन चलाउनको लागि खटिन्छन्, ९० जना कर्मचारी । 

बेलाबेला कर्मचारीको त्यही भिडमा मिसिन पुग्नुहुन्छ मनोज आफैं । उहाँलाई लाग्छ, थोरै भए पनि आफ्नो केही समय आफ्ना श्रमिकहरुसँग बिताउँ । त्यसैले त कहिलेकाहीं आफ्ना कर्मचारीहरुलाई लिएर घुम्नको लागि पोखरासम्म पुग्नुुहुन्छ ।

कर्मचारीहरुसँगको मित्रवत् व्यवहारले व्यवसाय सञ्चालनमा थप ढाडस दिने उहाँको बुझाइ छ । ‘मेरा कर्मचारी भनेका मेरा सम्पत्ति हुन्, उहाँहरु नभए मेरो कम्पनी कसरी चल्छ ?’ उहाँ भन्नुहुन्छ, ‘उहाँहरुको लगाव नै कम्पनीको भविष्य हो ।’

कुनै समय गिफ्टको पसल नचलेर वैदेशिक रोजगारीमा जानुभएका मनोज अहिले रोजगारी सिर्जना गरेर धेरै युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सक्षम हुनुभएको छ । आफूले कोरियामा कमाउने मासिक तलब जति अहिले आफ्ना कर्मचारीलाई दिन पाउँदा निकै गर्व गर्नुहुन्छ मनोज । 

‘म उबेला कोरिया जाँदा सुरुमा मेरो तलब ४० हजार रुपैयाँ थियो’, उहाँले भन्नुभयो, ‘अहिले हाम्रो उद्योगमा त्यो भन्दा बढी तलब खाने कर्मचारीहरु पनि छन् ।’

समयले मानिसलाई कहाँदेखि कहाँ पुर्‍याउँछ । जिन्दगीको सानो निर्णयले मानिसको भविष्य बदलिदिन्छ । मनोजको पनि त्यस्तै भयो ।

अमेरिकाको भिसालाई त्यागेर स्वदेशमै व्यवसाय गर्ने निर्णयले उहाँको भविष्य बदल्यो । भनौँ, उहाँलाई अमेरिकाको डलर भन्दा स्वदेशकै उद्यम प्यारो लाग्यो ।
अहिले आफ्नै देशमा स्थापित युवा उद्यमी घोषित हुनुभएको छ । राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

‘अमेरिका गएको भए म कसैको काम गरिरहेको हुन्थेँ होला’ भावुक हुँदै उहाँले भन्नुभयो, ‘यहाँ मैले व्यवसाय गरेर धेरै ठूलो काम नगरे पनि ९० जनाको परिवारको आधार भएको छु, धेरै खुसी छु ।’

मनोज घरपरिवारले भनेअनुसार नै अमेरिकामा जानुभएको भए उहाँले भनेझै‌ं त्यहीँ सानोतिनो जागिर गरिरहेको हुनुहुन्थ्यो । तर मनाेजको परिश्रमी विचारले त्यसो हुन दिएन । नेपालमै लगानी गरेर व्यवसाय गर्ने सोचले आखिर उहाँलाई सफल उद्यमीका रुपमा स्थापित गराएरै छाड्यो । अहिले वार्षिक १० करोड रुपैयाँको कारोबार गर्नुहुन्छ । ट्रयाकसुट र जर्सीसँगै अब झाेला उत्पादन गर्नकाे लागि पनि स‌ंरचना बनाइरहनुभएकाे छ । यतिमात्रै हाेइन आफ्नो कम्पनीमा उत्पादित सामानलाई कोरिया निर्यात गर्ने प्रक्रियामा पनि हुनुहुन्छ मनाेज ।

समाजसेवा गर्ने भोक

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै सफल व्यवसाय सञ्चालन गरी बसेका मनोजको कामलाई कदर गर्दै सरकारले नगद रुपैयाँ पचास हजारसहित सम्मान गर्‍याे । 
पुरस्कार ग्रहण गर्दै मनोजले भन्नुभयो, ‘यो पैसा म समाजसेवामा लगाउनेछु ।’ सम्मान लिएको दुई हप्तापछि उहाँ आफ्ना केही कर्मचारीसँगै पोखराको सारङकोट पुग्नुभयो र जेलसजाय भोगिरहेका ४० जना बालबालिकालाई ट्र्याकसुट र जर्सी वितरण गर्नुभयो ।

‘मैले केही कमाएँ भने केही रकम समाजसेवामा पनि लगाउँ भन्ने लाग्छ’, उहाँले भन्नुभयो, ‘बेलाबेला यसरी सहयोग गर्दै आएका छौँ, मलाई लाग्छ आफूले कमाएको केही भाग गरिबलाई पनि बाँड्नुपर्छ ।’

उहाँले समता विद्यालयको लागि भवन बनाइदिनेदेखि विभिन्न अनाथ आश्रममासमेत सहयोग गर्दै आउनुभएको छ ।

नेपालमा मात्र होइन, आफू कोरियामा छँदा पनि सहयोगी बन्नुपर्छ भन्ने भावनाको उदाहरण छाड्नुभयो मनाेजले । त्यतिबेला उहाँ कोरियाको बुसानमा रहेका नेपाली समुहको अध्यक्ष पनि हुनुहन्थ्यो । उहाँले साथीहरुलाई एकीकृत गरेर त्यहाँको सार्वजनिक स्थलमा फालिएको फोहोर उठाउनुभयो । 

यस्तै मनोज कोरियामा आफूले गरेको अर्को काम पनि सम्झिनुहुन्छ । कोरियामा काम गरिरहेको बेला त्यहाँ गौतम बुद्ध भारतमा जन्मेको हुन् भन्ने सुन्नुभयो । उहाँलाई त्यो कुरा चित्त बुझेन । त्यसपछि फेरि थाल्नुभयो, ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने अभियान ।

साथीहरुलाई भेला पारेर पम्पलपेट बनाउनुभयो र मेट्रो स्टेशन र बसपार्कतिर शान्तिपूर्ण र्‍याली गर्नुभयो । उहाँहरुका यस्ता कामले त्यहाँका कोरियनहरुमा नेपाली भनेपछि एकदमै राम्रा हुन्छन् भन्ने छाप बस्यो ।

'त्यसपछि कोरियनहरु सोध्थे, ‘नेपाली नारा ?’, अर्थात तिमी नेपाली हो ?', उहाँले लामाे स्वास फेर्दै पुराना दिन सम्झिनुभयाे ।

कुनैबेला कोरियामा साथीहरुको नेतृत्व गर्दै हिँड्ने मनोज अहिले ९० जना कामदारको नेतृत्व गर्नुहुन्छ । उहाँको नेतृत्वमा उहाँसँगै हुनुहुन्छ, श्रीमती र दुई छोराहरु । यस्तै मनोजका साथी माधव अधिकारीले पनि उहाँलाई हरपल साथ दिइरहनुभएको छ । 

बुवाको व्यापारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने छोराहरुको सपना छ । जेठो छोरा कुनाल ‘फिटवेल’ का उत्पादित सामानको अनलाइन व्यापार गर्छन् ।  कान्छा छोरा संकल्प १२ कक्षामा व्यवस्थापन विषय लिएर पढ्दै छन् । 

परिवारसँगै बसेर स्वदेशमै कर्म गर्दाको सन्तुष्टी शब्दमा व्यक्त गर्न नसकिने बताउनुहुन्छ मनोज, ‘यो खुसीको बयान गर्ने कुनै शब्द नै छैन ।’

अन्तिम अपडेट: असोज १९, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया