सेल्फीले लियो युवतीको ज्यान

 साउन १०, २०७६ शुक्रबार १८:२९:४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप–  लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको तामाकोशीले बगाएर ज्यान गएको छ ।

भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको सेल्फी खिच्ने बेलामा तामाकोशीले बगाएर शुक्रबार दिउँसो ज्यान गएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि जाँदै थिइन् ।

रामेछापको सदरमुकाम मन्थलीवाट दोलखातर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङ्गको हलेदे भन्ने ठाउँमा सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लिएर तामाकोशी नदीमा खसेकी थिइन् । १ किलोमिटर तल मन्थली नगरपालिका वडा नम्बर–१, आकाशेको पक्की पुलनजिक बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको खबर पाउनासाथ मन्थलीको आकाशेमा रहेको सशस्त्र प्रहरी गुल्मबाट गएको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो । उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी   दिनुभयो ।

कमलविनायक घर भएकी शर्मिला भक्तपुरकै दूधपाटीमा रहेको रोज डेन्टलमा कार्यरत थिइन् । उनी कार्यरत रहेको रोज डेन्टलका डाक्टर, मृतक शर्मिलाकी दिदीसहित उनी दोलखाको भिमेश्वर मन्दिर दर्शनका लागि भक्तपुरबाट शुक्रबार बिहान हिँडेका थिए । उनीहरु कारमा रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखा जाँदै गर्दा सबै जना मिलेर बाटोमा सेल्फी, सामूहिक तस्वीर खिच्दै जाँदै थिए । 

घटनापछि प्रहरीले उनीसँगै आएका डाक्टर, उनकी दिदीलगायतको टोलीसँग सोधपुछ गरी  आवश्यक अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया