भेरीको कटानले बस्ती नै जोखिममा, रातभर सुत्दैनन् रजेलावासी

खेतबारी बगाएर भेरी बस्तीतिर सोझियो

 साउन ११, २०७६ शनिबार १८:३९:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम - लगातारको वर्षासँगै भेरी नदीमा आएको बाढीले कटान गर्न थालेपछि सानीभेरी गाउँपालिकाकाे रजेला गाउँका बासिन्दा निदाउन पाएका छैनन् ।

गाउँपालिकाको वडा नम्बर-१मा रहेको यो गाउँमा भेरीले कटान सुरु गरेको छ । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् ।

नदीमा पानीको बहाव बढेको र बस्तीतर्फ कटान गर्न थालेपछि नदीले बस्ती नै बगाउने डरले आफूहरु रातभर जाग्रामबस्ने गरेको स्थानीय चित्रबहादुर आलेमगरले बताउनुभयो । नदी किनारमा रहेको यो गाउँमा भेरीले कटान गर्दै लगेपछि बस्ती नै जोखिममा परेको हो । ‘गाउँमा भएको सबै खेत भेरीले बगाइसक्यो’, चित्रबहादुरले भन्नुभयो,‘अब घरमात्र बाँकी छ, यही पनि कतिबेला बग्ने हो । हामी त रातभर सुत्दैनौँ, कतिखेर भेरीको बाढी गाउँमा पस्छ भर छैन ।’ 

अवैध खानीले समस्या बढायो

सानीभेरी र ठूलोभेरी मिसिएपछि बग्ने भेरी नदीमा अहिले पानीको बहाव निकै बढेको छ । मध्यपहाडी लोकमार्ग निर्माणको लागि ठेकेदार कम्पनीले भेरी नदीबाट नदीजन्य पदार्थ निकालेको थियो । त्यही कारण भेरीले गाउँको जमिन कटान सुरु गरेको स्थानीयको आरोप छ । नदीमा रहेको वालुवा र ढुङ्गा निकाल्दा अहिले नदी गाउँतिर सोझिएको उनीहरुकाे बुझाइ छ ।

गाउँ जोखिममा रहँदा पनि स्थानीयलाई लैजान सुरक्षित ठाउँ नभएको सानीभेरी गाउँपालिका-१ का वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । बस्तीको जमिन कटान रोक्न अहिले वडा कार्यालय र ठेकेदार कम्पनीले नदीको बहाव अर्कोतिर फर्काउन पहल गरे पनि सफल हुन सकेको छैन । वडा कार्यालय र ठेकेदार कम्पनीले नदीको कटान रोख्न डोजर लगाएर नदीको बहाव मोड्ने प्रयास गरेका थिए । वडाध्यक्ष टेकबहादुरका अनुसार नदीले कटान गर्न छोडेको छैन र ठूलो पानी परेमा बस्ती बगाउने जोखिम देखिएको छ।

तटबन्धको लागि छुट्याइएको रकमको काम भएन

नदी कटान रोक्न यसभन्दा पहिले नै निर्माण गरिएको तटबन्धले नदीको बहाव रोक्न सकेको छैन । नदी कटान रोक्न कर्णाली प्रदेश सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ तर काम भने भएको छैन ।

तटबन्धकाे काम समयमै नगर्दा अहिले गाउँ नै नदीको जोखिममा परेकाे वडाध्यक्ष टेकबहादुर बताउँनुहुन्छ । उहाँका अनुसार विनियोजित बजेट अनुसार सममकै काम सम्पन्न भएको भए रजेलावासी रातभर जाग्राम बस्नुपर्ने अवस्था आउने थिएन । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया