बाढीपहिरोबाट ३८ जना अझै बेपत्ता

 साउन १३, २०७६ सोमबार ६:३१:३६ | रासस
unn.prixa.net

काठमाण्डाै - मनसुन सक्रिय भएसँगै गएकाे असार र साउनकाे पहिलो साता आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । परेको वर्षापछि आएकाे  बाढीपहिरो र डुबानमा परी १ सय १७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लाे दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुुभयो । यस अवधिमा ४ सय १४  विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए । अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् ।

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १ सय ३४, पहिरोको २ सय २७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताउनुभयो । 

अहिलेसम्म एक अर्ब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ । पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ ।

डोल्पामा सात जना हराइरहेका छन् । गएकाे असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए । विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६ सय ७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया