कांग्रेस बचाउन डाक्टर गोविन्द केसी चाहियो ? : योगेश भट्टराई

 असार २५, २०७५ सोमबार १७:२:८ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभामा दर्ता भएको डाक्टर गोविन्द केसीको अनसन तथा चिकित्सा शिक्षा विधेयक सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भैरहेको छ ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद दिलेन्द्र बडुले दर्ता गराएको प्रस्ताव सोमबारको बैठकमा छलफल भैरहेको हो । 
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले डाक्टर गोविन्द केसीले राखेको मागलाई सम्बोधन गरी उँहाको स्वास्थ्य अवस्था प्रति गम्भीर हुन सरकारलाई  आग्रह गर्नुभएको छ ।

उहाँले डा. केसीको स्वास्थ्य अवस्था प्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  उहाँले सविंधानमै नागरिकको मौलिक हक र अधिकारलाई किटान गरेको हुँदा समूचित स्वास्थ्य र समूचित शिक्षा आम नागरिकहरुको मौलिक अधिकार भएको तर्फ सरकारलाई सचेत गराउनुभयो ।

उहाँले दूर दराजमा चिकित्सा शिक्षाको समूचित प्रबन्ध र स्वास्थ्यलाई सहज बनाउन नसकिएको भन्दै सरकार संविधानमा भएको व्यवस्थाप्रति गैर जिम्मेवार आरोप लगाउनुभयो । उहाँले डा.केसीलाई आम नेपालको समर्थन रहेकाले उहाँको माग पूरा गर्दै जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो ।

नेकपाका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले गोविन्द केसी, बालकृष्ण ढुङ्गेल र गगांमाया अधिकारीका नाममा सरकारलाई इमोसनल ब्ल्याकमेल गरेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक एजेण्डा सकिएपछि प्रतिपक्षी दलले गोविन्द केसी, बालकृष्ण ढुङ्गेल र गगांमाया अधिकारीका नाममा इमोसनल ब्ल्याकमेलिङ गर्न सुरु गरेको उहाँको तर्क थियो ।

गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरुले छाड्दै गएको कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘आज कांग्रेस बचाउन गोविन्द केसी चाहियो ? अब त्यो ठाउमा कांग्रेस पुगेको हो ?’

सरकारले गैह्र न्यायिक हिसारतमा राखेको भने प्रतिपक्षी दलले झुटो कुरा गरेको भन्दै उहाँले भन्नुभयो, ‘गोविन्द केसी आफू खुशी जुम्लामा गएर अनसन बस्नुभएको छ । उहाँ कुनै पनि सरकारको हिरासतमा हुनुहन्न । यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर संसदको समय खेर नफाल्न अनुरोध गर्न चाहन्छु ।’

कांग्रेसले अनावश्यक मुद्धा उठाएर संसदको समय बरबाद गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामीले फेरि एक पटक यो मुलुकको समय समय बर्बाद गरिरहेका छौ ।’

पहिले पनि मेडिकल कलेज संचालनका लागि सम्बन्धन दिएको भन्दै उहाँले भन्नुभयो, ‘हाल नेपालमा २० भन्दा बढी मेडिकल कलेज छन् । ती मेडिकल कलेज चलाउने मालिकहरुले मार्सी चामलको भात र चौरासी व्यञ्जन खाएका छन् कि ? दुना टपरीमा ढेडो खाईरहेका छन् । त्यसको छानबिन हुन आवश्यक छ ।’

शक्तिशाली संसदीय छानबिन समिति बनाएर आज सम्मका सम्पूर्ण मेडिकल कलेजको छानबिन गर्न पनि उहाँले आग्रह गर्नुभयो । यसअघि सम्बन्धन पाएका मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठेका कारण संसदले शक्तिशाली संसदीय  छानबिन समिति बनाएर सम्पूर्ण मेडिकल कलेजको छानबिन गर्नुपर्ने बताउनुभयो ।

सांसद भट्टराईले सात प्रदेशमा मेडिकल कलेज खोल्ने पार्टीको प्रतिवद्धता रहेको भन्दै कसैले भन्दैमा मेडिकल खोल्न दिने र नदिने निर्णय सरकारले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने कहाँ खोल्ने ? भन्ने कुरा कुनै गोविन्द केसीले भन्ने कुरा होइन । यो नेपालको प्लानिङ्ग कमिसनले ,योजना विदहरुले सिङ्गो मुलुकले, राष्ट्रले छलफल गरेर निकाल्ने निष्कर्ष हो ।’

छलफलका क्रममा प्रमुख विपक्षी दलका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले कर्णालीका लागि आवाज उठाएका डाक्टर गोविन्द केसीको मागलाई बेवास्ता गर्दै नागरिकको भावनामा कुल्चिएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई ‘चरेसको थाल र मार्सी चामलको भातमा’ स्वास्थ्य क्षेत्रमा बेथिति नल्याउन आग्रह गर्नुभयो । 

डाक्टर केसीको मागमा संसद पक्ष विपक्षमा विभाजन हुन आवश्यक नभएको बताउँदै यथाशीघ्र माग पूरा गर्न रसाइलीले माग गर्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • अभागी मास्टर

    July 9, 2018, 7:06 p.m.

    जुम्लामा डा गाेबिन्द केसीकाे अामरण अनसन काठमाडौ काे खुल्ला मञ्चमा अस्थायी शिक्षकहरूको अामरण अनसन समस्याको समाधान खाेज सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया