प्रधानमन्त्रीज्यू, रोबर्ट मुगाबेले झैँ पतनको बाटो नरोज्नुहोस् : मिनेन्द्र रिजाल

 असार २५, २०७५ सोमबार १७:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सर्वसत्तावादको उन्मादमा सरकार जिम्बाब्वेका नेता रोबर्ट मुगाबेको पथमा अघि बढेको भन्दै पतनाेन्मुख बाटो नरोज्न गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक र डाक्टर गोविन्द केसीको अनसनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उहाँलेवर्तमान सरकार रोबर्ट मुगाबेको बाटोमा हिँडेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो ‘सत्ताको आडमा वैधानिक दमनका सबै यन्त्र परिचालन गर्नु सुविधामा रहेको सत्ताको उन्मादको बाटो हो । प्रधानमन्त्रीज्यू विपक्षीलाई मान्दिन, केसीसँगको सम्झौता मान्दिन, आम नागरिकको विरोधका सामु झुक्दिनँ भन्ने सत्ता उन्मादको बाटो हो । त्यो बाटो रोबर्ट मुगाबेको बाटो हो । एउटा स्वतन्त्र सेनानीका लागि स्खलनको बाटो हो, प्रधानमन्त्रीज्यू त्यो बाटो नरोज्नुहोस् ।”

डाक्टर केसीलाई, कुलप्रसाद कोइरालालाई , पत्रकारलाई दमन गर्दा, न्यायालयलाई धम्क्याउँदा, प्रतिपक्षीमाथि ज्यादती गर्दा आम नागरिक विरोधमा जाग्ने भन्दै उहाँले सर्वसत्तावाद उन्मुख नहुन उहाँले प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।

ज्ञानेन्द्र सरकारको पालामा वर्तमान सरकारका परराष्ट्रमन्त्री र आफूलाई विमानस्थलबाट अवैधानिक तरिकाले फिर्ता गरेको स्मरण गर्दे उहाँले संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काउँदा पुनः ज्ञानेन्द्र सरकारको सर्वसत्तावादको झल्को दिलाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सरकारले कुलप्रसाद कोइरालालाई फर्काउँदा त्यो बाटो के बाटो भयो ? तपाईँको लोकतान्त्रिक चरित्रको अनुपम उदाहरण भयो ?’

चिकित्सा शिक्षामा रहेको बेथीति, अराजकता अन्त्य गर्न माथेमा आयोग र डाक्टर केसीको माग अनुसारको अध्यादेश तुहाइएको भन्दै उहाँले त्यो कांग्रेसलाई अस्वीकार्य रहेको बताउनुभयो । तत्काल ४ र त्यसपछि अरु आसेपासेलाई पोस्नका लागि ‘क्रोनिक क्यापिटालिजम’को अवधारणा अनुरुप सरकारले विधेयक पेस गरेको भन्दै त्यो फिर्ता गर्र्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान प्रदत्त अधिकारलाई जोखिममा पारिँदै छ यसमा हाम्रो घोर आपत्ति छ ।’

डाक्टर केसीले रोजेको सत्याग्रहको बाटो लोकतान्त्रिक विरोधको बाटो भएको भन्दै उहाँले त्यसलाई गृहमन्त्रीले अधिनायकवादी बाटो भनेर संविधानको अपमान र अपव्याख्या गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डा. केसीको अहिंसात्मक बाटोलाई गृहमन्त्रीले अधिनायकवादी बाटो भन्नु भएको छ, संविधानसभा मार्फत शान्ति लोकतन्त्र र मौलिक हकहरु संस्थागत गर्ने संविधान बनिसकेको छ, सायद संविधान बनाउने सफल संविधानसभाको निर्वाचन बहिष्कार गर्ने गृहमन्त्रीलाई थाहा भएन होला यो । त्यसैले सशस्त्र द्धन्दको दिक्षामा रहनुभएका गृहमन्त्रीले गोविन्द केसीले रोजेको बाटोलाई अधिनायकवादी बाटो भन्नुभयो । त्यो लोकतान्त्रिक बाटो हो । गृहमन्त्रीज्यू तपाईँलाई हेक्का रहोस् ।’

अन्तिम अपडेट: असोज २८, २०७५

1 Comments

  • प्रविण अर्याल

    July 10, 2018, 7:15 a.m.

    रोबर्ट मुगाबेको छोटो पृष्ठभूमी पनि अलिक राम्रो सँग ब्याख्या गरिदिएको भए अझ राम्रो सँग बुझिने थियो अभिव्यक्ति..... यस्तो खालको समाचारमा उदृत व्याक्तित्वको विश्लेषणले भनार्इहरू बुझ्न सजिलो बनार्इदिन्छ।

तपाईको प्रतिक्रिया