अमेरिकी वित्तीय संस्था ‘क्यापिटल वान’ का १० करोड ६० लाख ग्राहकको सूचना चोरी

 साउन १४, २०७६ मंगलबार १८:४९:२७ | एजेन्सी
unn.prixa.net

अमेरिकामा वित्तीय सेवा प्रदान गर्दै आएको अग्रणी फर्म ‘क्यापिटल वान’ को  डेटा चोरी भएको छ ।

एक महिला ह्याकरले क्यापिटल १० करोड लाख ६० लाख व्यक्तिको सूचना चोरेकी हुन् । सूचना चोरिएका व्यक्तिमा अधिकांश अमेरिका र क्यानडाका नागरिक रहेका छन् । कथित महिला ह्याकर पेज थोम्प्सनलाई प्रहरीले पक्राउ गरेको छ । ती महिला एउटा अनलाइन फोरममा डाटा चोरी गरिरहेका बेला पक्राउ परेकी हुन् । 

क्यापिटल वानका अनुसार चोरीमा आफ्ना ग्राहकको नाम, ठेगाना तथा फोन नम्बर मात्रै चोरी भएको बताएकोे छ । क्रेडिट कार्डको खाता नम्बर भने ह्याकरले चोर्न नसकेको कम्पनीले जनाएको छ  ।

यस घटनालाई  बैंकिङ इतिहासकै सबैभन्दा ठूलो सूचना चोरीको घटनाका रुपमा हेरिएको छ । क्यापिटल वान अमेरिकामा सबैभन्दा बढी क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो । यसले रिटेल बैंक पनि सञ्चालन गर्दै आएको छ । 

कति जना प्रभावित भए ?

सोमबार जारी आफ्नो बयानमा कम्पनीले यस घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख नागरिक प्रभावित भएको जानकारी दिएको छ । कम्पनीले जनाएअनुसार अमेरिकामा झण्डै डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक खाताका डेटा चोरी भएको छ ।

क्यापिटल वानका क्यानडामा रहेका क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित १० लाख बीमा नम्बर पनि चोरी भएको कम्पनीले जनाएको छ । ह्याकिङ भएको घटना गएको जुलाई १९ मा थाहा भएको हो । नाम, ठेगानाका अलावा ह्याकरले क्रेडिट स्कोर, लिमिट, ब्यालेन्स, पेमेन्ट हिस्ट्रीलगायतका सूचना पनि चोरेको कम्पनीले जनाएको छ । कम्पनीका चेयरपर्सन रिचर्ड फेयरबैंक भन्छन्, ‘यो निकै राम्रो कुरा हो कि अपराधी पक्राउ परेका छन् । तर पनि जे घटना घट्यो त्यो निकै दुःखद रहेको छ ।’

को हुन ह्याकर ?

अमेरिकी जस्टिस डिपार्टमेन्टका अनुसार ह्याकिङ प्रकरणमा गिरफ्तार भएकी महिला पेसाले सफ्टवेर इन्जिनियर हुन् । उनी पहिले सियाटलमा रहेको एउटा टेक्नोलोजी कम्पनीमा काम गर्थिन् ।

३३ वर्षीया पेज थोम्प्सनलाई प्रविधि दुरुपयोग र ठगीको आरोपमा पक्राउ गरिएको हो । उनलाई सियाटलमा रहेको संघीय अदालतमा पेस गरिनेछ । यस प्रकरणमा अगस्ट १ सुनुवाइ हुनेछ । 

यस घटनामा दोषी ठहरिए थोम्प्सनलाई पाँच वर्षको जेल र २ लाख ५० हजार अमेरिकी डलर जरिबाना लगाइनेछ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया