चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते

 साउन १७, २०७६ शुक्रबार १८:४७:१२ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको मोदी गाउँपालिका-२, देउपुरमा रहेकाे पातीचौरमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार दिउँसो साढे तीन बजे भएको आक्रमणमा घाइते हुनेमा स्थानीय ३५ वर्षीय खुम राना रहेका छन् । खुट्टा, हात र टाउकोमा चाेट लागेका उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

बनिरहेकाे घरभित्र चितुवा पसेको देखेपछि धपाउन गएका रानालाई चितुवाले आक्रमण गरेको स्थानीय समिर मल्लले जानकारी दिनुभयो ।

आक्रमणपछि स्थानीयले लखेट्ने क्रममा चितुवा पनि घाइते भएको थियाे । घाइते चितुवालाई प्रहरी मार्फत डिभिजन वन कार्यालय पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय पर्वतले घाइते चितुवाको उपचार भैरहेको जनाएको छ । चितुवा बस्तिमाथिको जंगलबाट गाउँमा आएकाे स्थानीयकाे भनाइ छ ।


 

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया