चीनलाई दिने गैंडा काठमाडौं ल्याईँदै,  उपहारमा दिइयो २६ गैंडा

 असार २६, २०७५ मंगलबार ९:१५:५८ | रासस
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको जोडी गैंडा मंगलबार काठमाडौं पठाइने भएको छ ।

गैंडा यही असार २८ गते चीन पठाइनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले स्थानीय सरोकार भएकाहरुसँग छलफल गरी सबैलाई जानकारी दिएर दिउँसो गैंडा काठमाडौं पठाउन लागिएको बताउनुभयो ।

गैंडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा. कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंँडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानुहुनेछ ।

२६ गैंडा उपहार

चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा अहिलेसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा ६, भारतमा ४ तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैंडा पठाइएको छ ।

निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैंडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैंडा पठाइएको थियो । बाह्र वर्षपछि फेरि अहिले दुई जाेडी गैंडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् । 

यसअघि गैंडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैंडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया