सामुदायिक विद्यालयमा चर्काे शुल्क तिर्दै राेल्पाका विद्यार्थी

 साउन २२, २०७६ बुधबार १८:४८:५२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सरकारले माध्यामिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको भए पनि यहाँका विद्यार्थीहरुले शुल्क तिर्नु परेको गुनासो गरेका छन् ।

माध्यमिक तह अन्तर्गत कक्षा ११ मा भर्ना हुन पाँच हजार रुपैयाँ तिर्नुपरेको रोल्पा नगरपालिका–६ धाबाङका विद्यार्थी विजय केसीले बताए । सदरमुकाम लिबाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा शिक्षा संकाय पढ्नका लागि भर्ना शुल्क बापत् ३ हजार र ५ महिनाको शुल्क २ हजार गरी पाँच  हजार तिरेको उनले बताए । 

यसअघि कक्षा १० सम्मलाई मात्र माध्यामिक तह मानेर निःशुल्क गरिएको भनिए पनि विद्यालयहरुले भने शुल्क लिने गरेका थिए । अहिले कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएको र शिक्षक दरबन्दी अभावका कारण निजी शिक्षकलाई तलब खुवाउन शुल्क लिने गरेको बालकल्याण माविका प्राचार्य मदुसुधन पोख्रेलको भनाइ छ । 

‘कक्षा ११ र १२ का लागि जम्मा ३ जनाको दरबन्दी छ’, उहाँले भन्नुभयो, ‘कम्तीमा पनि ५ वटा विषयको कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसैले निजीबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यार्थीबाट शुल्क लिने गरेका छौँ’ ।

माध्यमिक तहसम्म अनिवार्य निःशुल्क रुपमा पालिकाहरुले हेर्ने भनिए पनि हालसम्म पालिकाहरुबाट कुनै सहयोग नआएकाले शुल्क उठाउनु परेको विद्यालयले जनाएको छ ।

विद्यार्थी संख्या धेरै भएकाले कक्षा १० सम्म पनि अभिभावक सहयोग भनेर विद्यार्थीबाट शुल्क लिने गरेको प्राचार्य पोख्रेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया