बडीमालिका: प्राकृतिक छटाको अनुपम स‌ंगम

 साउन २३, २०७६ बिहिबार १४:१०:१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक र खपत्तड बाजुरामै रहेका छन् । बडीमालिकामा चतुर्दशी अर्थात आउँदो हप्ताको बुधबार मेला लाग्दैछ । 

जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु, बाजुरामा रहेका सरकारी कार्यालयको पुजा टोली र स्थानीय पर्यटकसहित भक्तजनहरु परम्परा अनुसार आउँदो मंगलबार बडीमालिका प्रस्थान गर्नेछन् । 

बडीमालिका पुजा गर्ने डोटीको सरकारी पूजा टोली भने हिँडिसकेको छ । अछामको बैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुरुप यो टोली १५ दिन अघि प्रस्थान गरेको हो । 

यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको हो । यस क्षेत्रको अवलोकन गर्ने उद्धेश्यले आन्तरिक तथा बाह्य पर्यटकहरु समेत यसैबेला बडीमालिका पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीवेती बडीमालिकाका मुख्य आकर्षणहरु हुन् । करिब १४ हजार फिट उचाईमा रहेको भूमिमा रहेका समथर हरिया फाँटहरु र त्यसमाथि फुलेका दर्जनाैँ प्रजातिका फूलहरुको रमणीयता हेर्दा बडीमालिका साँच्चै प्रकृतिको अनुपम उपहार भएको अनुभव हुने यहाँ पुगेकाहरु बताउँछन् । 

औपचारिक पूजाआजा गर्नुपर्ने परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्रीहरु बडीमालिकामा पूजा सकेर आ–आफ्नो थातथलो लागेका छन् । 

बडीमालिका पुजाका डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ । अछामको बैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुरुप एक टोली १५ दिन अघि प्रस्थान गरेको थियो ।

बाजुराको भूमिबाट बडीमालिका पुग्न तोकिएको स्थानहरुमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । त्यसै मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्रीहरु त्यस तर्फ हिँडेका थिए । अरु वर्षहरुभन्दा यस वर्ष भक्तजनको बढी भिड रहेको पुजारी भानुभक्त जोशीले बताउनुभयो । 

बाजुराको त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजनहरु बताउछन् । स्कन्दपूराणमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सतीदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाने क्रममा मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग पतन भएको थियो ।

यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्ति पीठको रुपमा स्थापित भएको जनविश्वास छ । बडीमालिका तीर्थयात्रामा गएका जाँदै गरेका बैतडीका गणेश जोशीले भन्नुभयाे, ‘बडीमालिकाको महिमा सुनेर पहिलो पटक त्यहाँ जान आएको हूँ ।’ 

यस वर्ष बडीमालिका यात्रा गरेर फर्किएका स्थानीय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीले भन्नुभयाे, ‘बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ ।’ पूजाको अवसर पारेर विभिन्न क्षेत्रका पर्यटक तथा तीर्थयात्रीहरु बडीमालिका पुग्ने गर्दछन् । 
    
बुढीनन्दा तालहरुको राजधानी 

हाजिरीजवाफमा पनि प्रायः नसोधिने भएकाले यसबारे धेरैलाई थाहा छैन । तिलिचोपछि दोस्रो उचाइमा रहेको ताल पनि नेपालमै पर्छ, बाजुराको बुढीनन्दा क्षेत्रमा । धार्मिक आस्था  र अपार प्राकृतिक छटाहरुको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाइमा रहेको तथ्य सार्वजनिक भएपछि यसबारे चासो बढ्न थालेको छ ।

बुढीनन्दा देवी थानसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अरु ९ वटा तालहरु पनि छन् । मुख्य तालको उचाइ समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्बाइ, चौडाइ तथा गहिराएबारे आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन ।

बुढीनन्दा क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । ‘मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लाग्छ’, स्थानीय बासिन्दा रामबहादुर बोहराले बताउनुभयाे । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । स्थानीय बासिन्दा नवीन शाहीले दिएको जानकारी अनुसार त्यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, महादेब महारुद्र ताल, राक्षसीताल, मष्टाताल, सुनन्दा ताल, बुढीनन्दा ताललगायतका नौवटा ताल छन् ।

लौरी विनायक, खेतीबेती, वर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँ बुढीनन्दामा छन् । बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा तथा भेडाका लस्कर र गाईभैंसीका गोठहरु टन्नै देख्न सकिन्छ । वर माग्न बुढीनन्दा जानु, रंग हेर्न मालिका भन्ने यहाँको उखान रहेको छ । यस क्षेत्रमा रमाइलो र अन्य उद्देश्य भन्दा पनि तपध्यान गर्ने वृद्ध–वृद्धा र उमेर छिपेकाहरु बढी जाने गरेका छन्। 

यति उचामा रहेका ताल अरु ठाउँमा नभएका कारण बुढीनन्दा तालबाट धनभण्डार नजिक झर्ने झरना र निरंकारी तालबाट आउने झरनाको उचाइ र त्यसको समुन्द्री सतहबाटको उचाइ लाई सरकारी निकायबाट प्रमाणित गर्नसक्ने हो भने यसको महत्व झन बढी हुने नागरीक अगुवा धर्मराज पाध्याले बताउनुभयाे । 

ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रङ्गीचङ्गी फूलहरुले सुन्दर बगैंचाकाे झल्को दिन्छ । खप्तड राष्ट्रिय निकुन्ज हुँदै रारा जाने पर्यटकका लागि बीच बाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व भविस्यमा बढ्ने देखिन्छ । बाटोमा हिँड्दा मृगका बथान, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी र जटामसी लगायतका सयौं जडिबुटी भेटिन्छन् ।

जुत्ता चप्पल वर्जित

अहिलेसम्म त्यस क्षेत्रमा जानका लागि छाप्रेपाटनबाट माथि खुट्टामा जुुत्ता चप्पल लगाएर जाने परम्परा छैन ।

बुढीनन्दा अवलोकनका लागि साउन-भदौ उपयुक्त महिना मानिन्छ । जनैपूर्णिमामा त्यहाँ भव्य मेला लाग्छ । कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ । बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामाकरण भएको किंवदन्ती छ ।

ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न बाटोमा भेटिने प्राकृतिक गुफाहरुमा दुई दिन बास बस्नुपर्ने धार्मिक परम्परा छ । यस क्षेत्रमा कालो लुगा र छालाका सामानको प्रयोग गर्न राम्रो नहुने बताइन्छ । बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीसम्म हवाइजहाजमा गएपछि त्यहाँदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको स्वागत सत्कार गर्छन् ।

केही वर्षदेखि जिल्ला प्रहरी कार्यालय बाजुराले सुरक्षाको व्यवस्था पनि गर्दै आएको छ। याे वर्ष पनि कोल्टी विमानस्थल सुरक्षा गार्डबाट एक टोली र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय जिल्ला विकास समिति बाजुराले गरेको छ । 

 

अन्तिम अपडेट: साउन ३१, २०७६

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया