छात्रावास, छात्रवृत्ति र ब्रेल लिपिका पाठ्यपुस्तककाे माग गर्दै जुम्लाका दृष्टिविहीन विद्यार्थी

 साउन २३, २०७६ बिहिबार १७:५२:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला - तिला गाउँपालिका-४, नुवाकोटका दृष्टिविहीन विद्यार्थी गणेश खत्रीले एसईई परीक्षामा ३.०५ जीपीए ल्याएर उत्तीर्ण हुनुभयाे ।

उहाँ साथीहरुसहित उच्च शिक्षाका लगि सदरमुकाम आउनुभएकाे छ । गणेशजस्तै जुम्ला पातारासीका डिलबहादुर बुढा र अमृत बुढा पनि उच्च शिक्षाका लागि जुम्ला सदरमुकाममा आएका छन्  ।

सिञ्जा गाउँपालिकाको भैरव माध्यमिक विद्यालय नराकोटबाट एसईई उत्तीर्ण भएका दुवै जनाकाे जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययन सुरु भइसकेको छ । उनीहरुले निशुल्क आवासीय छात्रावास र सरकारले दिने छात्रवृत्ति पाएका छैनन् ।

दृष्टिविहीन विद्यार्थीहरुले सरोकारवाला निकायसँग आवासीय छात्रावास र छात्रवृत्तिकाे माग गरिरहेका छन् । सरकारले आवासमा बसेर अध्ययन गर्ने अपाङ्गता भएका व्यक्तिलाई चार हजार रुपैयाँछात्रवृत्ति दिने व्यवस्था गरेकोले आवास र छात्रावासको लागि पहल गरिदिन उनिहरुले अनुरोध गरेका हुन् ।  

छात्रवृत्ति र छात्रावास नियमानुसार पहल गरिने जुम्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मकरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृत्तिका लागि आवश्यक सिफारिस गरिने पनि बताउनुभयो । 

सुनेकै भरमा पढाइ

कक्षा १० सम्म ब्रेल लिपीको सहयोगमा अध्ययन गरेका दृष्टिविहीन विद्यार्थीहरुले उच्च शिक्षा भने सुनेकै आधारमा अध्ययन गरिरहेको बताउँछन् । उनीहरुले कक्षा ११ देखि माथि पनि ब्रेलमा पाठ्यपुस्तकको माग गरेका छन् । उनीहरुले अपाङ्ग पुनर्स्थापन तथा विकास केन्द्रमा आवासीय छात्रावास र छात्रवृत्तिसहित ब्रेल पाठ्यपुस्तकको पहल गरिदिन भन्दै अनुरोध गरेका हुन ।

विद्यार्थीहरुका माग अनुसार अपाङ्ग पुनर्स्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले सरोकारवाला निकायहरुसँग पहल गर्ने सुनाउँदै राज्यले सबैका लागि शिक्षा भन्ने सरकारको मूल नारा अगाडि बढाए पनि अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक पूर्वाधारको अभाव रहेको बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया