कांग्रेस भनेको सानेपा, शेरबहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन : गगन थापा

 साउन २४, २०७६ शुक्रबार १९:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेस बलियो र भरोसायोग्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उहाँले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताउनुभएको हो । उहाँले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दे उहाँले पार्टीको तल्लो तहसम्मका भात्तृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति  कांग्रेस बलियो र भरोसायोग्य हुनुपर्छ । कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका विङसहरु बलियो हुनु हो । कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरबहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन ।’

उहाँले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेता थापाले पार्टी नेतृत्वलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मूल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिनुभयो । 

उहाँले पार्टी नेतृत्वले युवाहरुलाई भविष्यमा देशको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्बिर दिन सक्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस सधैँ नागरिकको मन जित्ने अभियानमा लागिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामी मजदुर किसान पार्टी पनि होइन, भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो जित्ने मन हुन्छ । देशभरि चुनाव लड्ने हो जितेन भने जितेन । अर्को पटक जित्ने हो ।’

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ । 

त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ । सम्मेलनमा फियनअन्तर्गतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया