प्लास्टिक प्रयोगविरुद्ध अनौठो अभियान : बोतल र कप दिएर बसको टिकट

 साउन २६, २०७६ आइतबार ११:३२:३१ | एजेन्सी
unn.prixa.net

यतिबेला पुरै विश्व प्लास्टिकको बढ्दो प्रयोगबाट निम्तिएको प्रदूषणले आहत छ । शहरमा होस् वा नदीनालामा प्लास्टिकको थुप्रो देखिन्छ ।

कुनै बेला निर्मल र कञ्चन पानी बग्ने हाम्रा नदीहरुमा प्लास्टिक जम्न थालेका छन् । प्लाास्टिकको बढ्दो प्रयोगले प्राकृतिक सुन्दरता समाप्त पार्ने मात्र काम होइन, कतिपय जीवजन्तुको ज्यान नै लिने काम भैरहेको छ ।

यस्तो वातावरणमा इन्डोनेसियाको सुरबाया शहरले प्लास्टिकको प्रयोगबाट हुने प्रदूषण कम गर्नका लागि उदाहरणीय कदम चालेको छ । यतिबेला सुरबाया शहरमा रहेको एउटा बसपार्कमा मानिसहरु प्लास्टिकका बोतल र डिस्पोज हुने खालका कप हातमा लिएर लाइन बसेको दृश्य देख्न सकिन्छ ।

मानिसहरु प्लास्टिकका यस्ता फोहोर दिएर बसको टिकट काटिरहेका छन् । यो सब इन्डोनेसियामा प्लास्टिकको प्रयोग कम गर्न भैरहेको छ । इन्डोनेसिया समुद्र फोहोर गर्ने कुरामा चीनपछि दोस्रो नम्बरमा आउँछ । इन्डोनेसियाले यस समस्याबाट छुटकारा पाउन समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोर सन् २०२५ सम्म ७० प्रतिशतसम्म कम गर्ने लक्ष्य लिएको छ ।

यो लक्ष्य प्राप्त गर्नका लागि इन्डोनेसियाले प्लास्टिकजन्य फोहोरहरु रिसाइक्लिङ गर्ने, मानिसहरुमा जनचेतना फैलाउने तथा प्लास्टिकका सामानको प्रयोगमा रोक लगाउनेसम्मका योजना अघि सारेको छ । हरेक हप्ता निःशुल्क यात्राका लागि १६ हजार यात्रीले प्लास्टिकका फोहोर दिएर बसको टिकट काट्ने गरेका छन् ।

इन्डोनेसियाली अधिकारीहरुका अनुसार बसमा एक घण्टासम्मको दूरीमा यात्रा गर्नका लागि तीन वटा ठूला बोतल, पाँच मध्यम खालका बोतल वा दश वटा प्लास्टिकका कप दिनुपर्छ ।  र ती बोतल सफा र नफुटेको भने हुनुपर्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया