सडक नै बेच्ने वडा सदस्यसहित ६ जना जेल चलान

 असार २६, २०७५ मंगलबार २०:२५:२७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – सगरमाथा राजमार्गको जग्गा बिक्री गरेको आरोपमा पक्राउ परेका त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई उदयपुर अदालतले जेल चलान गरेको छ । 

जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यवसायी हरिप्रसाद ढुगानालाई पुर्पक्षका लागि जेल चलान गरेको हो । ६ जनालाई मंगलबार नै थुनाका लागि जिल्ला कारागार शाखा बोक्सेमा पठाइएको छ ।  

सरकारी जग्गा खरिद बिक्रीमा संलग्न रहेको भन्दै बिक्री गर्ने दाहाल बाबुछोरा, खरिद गर्ने डगोल, नापी सर्वेक्षक ठाकुर, महिला वडासदस्य शाही र लेखापढी व्यवसायी ढुगानालाई पक्राउ गरी ठगीमा मुद्धा चलाइएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । खरिद गर्ने डंगोल र बिक्री गर्ने दाहाल बाबुछोरासँगै अन्य भूमिका निर्वाह गर्ने महिला वडासदस्य सहितलाई मुद्धा चलाइएको थियो । दाहाल बाबुछोराले राजर्मागले ओगटेको सडक डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा जेठ १६ गते बिक्री गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिक्री भएको जग्गा सदरमुकाम गाइघाटबाट झण्डै दुई किलोमिटरको दूरीमा पर्छ । महिला वडा सदस्य शाही, नापी सर्वेक्षक ठाकुर, लेखापढी गर्ने ढुगानको मिलेमतोमा दाहालले डंगोललाई राजर्मागको जग्गा रजिष्ट्रेसन पास गरिदिएका आधारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 

त्यस प्रकरणमा जग्गा धनीको नाती विरेश दाहाल, नापी प्रमुख कुशेश्वर चौधरी, जगन्नाथ आचार्य र दिपेन्द्र चौधरी फरार रहेको जनाइएको छ । 

याे पनि पढ्नुहाेस् 

उज्यालो समाचार प्रभाव : राजमार्गको जग्गा बेच्ने बाबुछोरा पक्राउ

मालपोत कर्मचारीको मिलेमतोमा राजमार्गको जग्गा बिक्री

 

 

 

अन्तिम अपडेट: चैत २५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया