विराट कोहली चम्कँदा वेस्टइण्डिज विरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतकाे जित

 साउन २७, २०७६ सोमबार ७:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइण्डिज विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ५९ रनले विजयी भएको छ । पहिलो खेल रद्द भएको थियो । सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुने छ ।

भारतको जितमा कप्तान विराट कोहलीले शतकीय पारि खेलेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतको सुरुआत भने राम्रो थिएन । पहिलो ओभरमै ओपनिङ व्याट्सम्यान शिखर धवन २ रन बनाएर आउट भए ।

त्यसपछि कप्तान कोहली र रोहित शर्माले भारतको इनिङ्स अघि बढाएका थिए । १६ औं ओभरमा रोहित १८ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका ऋषभ पन्त पनि धेरै बेर क्रिजमा जम्न सकेनन् ।

उनले व्यक्तिगत २० रन बनाए पनि फेरि एक पटक खराब सटमै आउट हुन पुगे । नयाँ व्याट्सम्यान श्रेयस अय्यरले कोहलीलाई साथ दिए । कोहलीले ३८ औं ओभरमा ११२ बलमा शतक पुरा गरेका थिए । कोहलीकाे एक दिवसीय करियरको ४२ औं शतक हो ।

श्रेयसले पनि अर्धशतकीय पारि खेले । कोहली १२० रन बनाएर आउट हुनुभन्दा पहिला अय्यरसँग १२५ रनको साझेदारी गरेका थिए । ४२.२ ओभरमा पानी परे पछि खेल रोकिएको थियो । पानी रोकिएपछि सुरु भएको खेलमा अय्यर ७१ रन बनाएर आउट भए ।

अन्तिमसम्म क्रिजमा रहेका रविन्द्र जडेजाले नट आउट १५ रन बनाएपछि भारतको स्कोर २७९ पुगेको थियो । वेस्टइण्डिजका कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए ।

२८० रनको लक्ष्य लिएर मैदान उत्रिएको वेस्टइण्डिजका क्रिस गेल र एविन लुईसले पारिको सुरुआत गरे । भारतीय बलरमाथि हावी हुन खेजेका गेललाई ११ रन र शाई होपलाई ५ रनमा आउट गरेपछि खेलमा भारत हाबी भएको हो ।

११ रन बनाएसँगै क्रिस गेल सर्वाधिक रन बनाउने पहिलो क्यारेवियन खेलाडी पनि बनेका छन् । १२.५ ओभरमा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा वेस्टइण्डिजले नयाँ लक्ष्य ४६ ओभरमा २७० रनको पाएको थियो ।

इभिन लुइसले ६५ तथा निकोलस पुरनले ४२ रन बनाए । वेस्टइण्डिज ४२ ओभरमा २१० रन बनाएर अल आउट भयो । भारतका भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया