जातीय विभेद: दलित युवती बिहे गरेकाले बुवा बित्दासमेत दाहसंस्कारमा बाेलाइएन

 साउन २७, २०७६ सोमबार १७:१२:५१ | सन्ताेष रुचाल
unn.prixa.net

आफूलाई जन्म दिने बुवाको निधन हुँदा मनमा थामिन नसकेको आँसु आँखाबाट त बगेको थियो नै । जन्म दिने बुवाको सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्न नपाउनुको पीडा छुट्टै थियो कवि मुकुन्द सुवेदी (प्रयास) लाई ।

धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्ले निवासी यज्ञप्रसाद सुवेदीका कान्छा छोरा हुनुहुन्छ मुकुन्द सुवेदी । उहाँलाई जन्म दिने बुवा यज्ञप्रसाद सुवेदी बितेको ५ दिन भैसकेको छ । तर उहाँले आफ्ना दाजुभाइ र आफन्तजनहरुसँग आफ्नो पुर्ख्यौली घर पाख्रीवास गएर किरियापुत्री बस्न पाउनु भएको छैन । त्यसको एउटै मात्र कारण हो । दलित समुदायको केटीसँग विवाह ।

चार भाइ, एक बहिनीमध्ये परिवारमा मुकुन्द कान्छा छोरा हुनुनुहन्छ । बुबाको मृत्यु हुनुअघिसम्म दाजुभाइ तथा आफन्तसँग राम्रो सम्बन्ध रहेको मुकुन्दको अहिले बुवाको निधन भएको ५ दिन बितिसक्दा पनि एक पटक आफूलाई फोन नगरेको मुकुन्दले बताउनुभयो । बुवाको निधन हुनु अगाडि घर गएका मुकुन्दले हिन्दू परम्पराअनुसार बुबाको वैतरणी गर्न आफैले गाई किन्नु भएको थियो । बुवाको वैतरणी सकेर धनकुटा घर आइपुग्दा बुवाको निधन भयो भन्ने जानकारी छिमेकीबाट थाहा पाउनुभयो ।

जेठो दाइ गोविन्द सुवेदीको मोबाइल नम्बरबाट उहाँलाई छिमेकीले साउन २२ गते फोन गरी बुवाको निधन भएको र उतैबाट मलामी जान तयार हुनू भन्ने जानकारी भयो । त्यसैअनुसार उहाँ मूलघाट मलामी जान तयार हुनुभयाे र जानुभयाे पनि । तर दाहसंस्कार स्थलमा उहाँलाई बुवालाई दागबत्ती दिनसम्म भने दिइयो । तर छिमेकीमार्फत ‘पुर्ख्यौली घर नआउनू भन्ने हामी दाजुभाइको सल्लाह भयो’ भनेपछि उहाँ आफ्नो घर जानु भएन ।

अहिले उहाँ श्रीमती मैया रसाइली र छोरासहित धनकुटा नगरपालिका–७ मा रहेको आफ्नै घरमा बस्नु भएको छ । हिन्दू परम्पराअनुसार केश काटेर सेतो कपडा लगाएर किरिया बस्नु पर्ने हो । तर उहाँले त्यसो गर्नु भएन । केश मात्र काटेर सामान्य कपडा लगाएर उनी दुःखमा बस्नु भएको छ । उहाँले स्थानीय बुद्धिजीवी टीकाप्रसाद लामिछानेको सल्ला अनुसार १२औँ दिनको दिन भदौ १ गते चोखिने योजना रहेको बताउनुभयो ।

२०५३ सालमा धनकुटा नगरपालिका–९, बेलहाराकी मैया रसाइलीसँग विवाह गरेका मुकुन्दको अहिले एक छोरा रहेका छन् । मैया स्थायी शिक्षिका हुनुहुन्छ । कवि तथा साहित्यकारको रुपमा चर्चित मुकुन्द धनकुटा बजारमा रकभा आर्ट सेन्टर चलाएर बस्नु भएको छ ।

बुवाआमा बिरामी हुँदा आफूले उपचार गरेको र २०६१ सालमा घरका दाजुभाइको अनुरोधमा घर जाने आउने गरेको भए पनि अहिले ससुराको निधन हुँदा अचानक जातीय विभेदको हिसाबले हेरिएको मुकुन्दकी श्रीमती मैया रसाइलीले बताउनुभयो । ‘ल म त दलितकी छोरी भएँ । तर उनको कान्छा भाइलाई त बोलाउँदा हुने थियो नि ? हामीमाथि ठूलो अन्याय भयो’, रसाइलीले भन्नुभयो ।

मुकुन्दका जेठा दाजु गोविन्द सुवेदी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाख्रीवास नगर कमिटीका सचिवालय सदस्यसमेत हुनुहुन्छ । त्यस्तै माइला दाजु दुर्गा सुवेदी र माइली भाउजू मातृका सुवेदी विद्यालयका प्रधानाध्यापकहरु हुन् । दाजु स्थानीय गुराँसे प्राविका प्रधानाध्यापक हुन् भने भाउजू शहीद यज्ञ प्राविका प्रधानाध्यापक हुन् । 

माइला दाजु पनि नेकपा पाख्रीवास नगर कमिटीको सचिवालय सदस्य नै हुन् । साहिँला दाजु चन्द्र सुवेदी भने गाउँघरमा नै पुरेत्याइँ गर्दै आउनु भएको छ । दाजुभाइहरु यति शिक्षित हुँदाहुँदै पनि एकाइसौं शदाब्दीमा आएर मानिसले मानिसमाथि विभेद गर्नु विडम्बना रहेको अधिकारकर्मीहरु बताउँछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया