हिन्दू–मुस्लिम मिलेर मनाए कपिलवस्तुमा बकर ईद

 साउन २७, २०७६ सोमबार २०:११:३८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा सद्भावपूर्ण तरिकाले बकर ईद मनाइएको छ । बकर ईदका अवसरमा कपिलवस्तुका हिन्दू समुदायले मुस्लिम समुदायलाई शुभकामना प्रदान गरेका छन् ।

बिहानै जिल्ला सदरमुकाम तौलिहवा बसपार्कसँगै रहेको ईदगाहमा नमाज पढ्न गएका मुस्लिम समुदायलाई प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता, प्रदेश सभा सदस्य धमबहादुर लाल श्रीवास्तव, नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेय, युवा व्यवसायी संजय गुप्ता लगायतका हिन्दू अगुवाहरुले शुभकामना व्यक्त गरेका हुन् ।

ईदगाहमा सामूहिक नमाज पढेर निस्केका मुस्लिम साथीभाइ तथा नेता कार्यकर्तालाई हिन्दू अगुवाहरुले अंकमाल गरी बकर ईदको शुभकामना व्यक्त गरेका थिए । हिन्दूको पर्वमा मुस्लिम समुदायले शुभकामना दिने, सहभागी हुने, मुस्लिमको पर्वमा हिन्दूहरुले शुभकामना दिने र सहभागी हुने परम्परा रहँदै आएको छ । यस्तै परम्पराले समाजमा सद्भाव बढाउने हुँदा यो अत्यन्त जरुरी रहेको प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ताले बताउनुभयो ।

‘सामाजिक, धार्मिक तथा जातिय सद्भावबाट मात्रै समाज एकढिक्का भई विकासको बाटोमा अघि बढ्न सक्छ, त्यसको उदाहरण हामी आफैले दिनुपर्छ’, नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेयले बताउनुभयो ।

बकर ईदका अवसर सदरमुकाम तौलिहवाको छोटकी तौलिहवास्थित इमाम अहमद बिन हम्मल, चन्द्रौटा, कृष्णनगर, अभिराव, पकडी, महाराजगञ्जलगायतका मस्जिद तथा ईदगाहहरुमा मुस्लिमहरुले सामूहिक नमाज पढेका छन् ।

बकर ईदकै अवसर पारेर कपिलवस्तुका २ सय २३ जना जना मुस्लिमहरु हज गर्नका लागि साउदी अरेबियाको मक्का पुगेका छन् । एउटा ईस्लाम धर्मावलम्वीले जीवनमा एक पटक हज गर्न गए जन्नत(स्वर्ग) प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ईद–उल–अजहाको नमाज पढेर आ–आफ्नो घर गएर आफ्नो क्षमताअनुसारको कुरवानी अर्थात् बली दिएर पर्व मनाएका छन् । कुरवानीको मासु ३ भाग लगाई एक भाग गरिब गुरुवा, एक भाग साथी इष्टमित्र र एक भाग परिवारले खाने प्रचलन छ ।

प्रदेश सरकारले बकर ईदका अवसरमा दिएको सार्वजनिक बिदाप्रति यहांका मुस्लिम समुदायले स्वागत गरेका छन् । तर मुस्लिम समुदायले केन्द्र सरकारले सार्वजनिक बिदा नदिएकोमा दुःखी बनेका छन् ।

ईद–उल–फित्र, बकर ईद र मोहम्मद पैगम्वरको जन्म दिन मोहम्मद डे इस्लाम धर्मावलम्वीहरुका लागि निकै पवित्र दिन भएको मुस्लिम अगुवा रउफ अहमद खाँले बताउनुभयो । यी ३ दिन केन्द्र सरकारले नै सार्वजनिक बिदा दिनु पर्ने देशभरका मुस्लिमहरुको सरकारसँग माग रहेको खाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया