नेकपाको नियमावली अनुमोदन

 असार २७, २०७५ बुधबार १२:१०:३६ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अनुमोदन गरेको छ । 

कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ । पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई तीव्रता दिने गरी नियमावलीमा आधारित भएर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीका नेताद्वय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दलले तयार पारेको नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ । नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ । दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रीय समिति बनाउने व्यवस्था गरिएको छ । जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया