अलैँचीमा रोग लागेपछि रामेछापका किसान मर्कामा

 साउन ३१, २०७६ शुक्रबार १३:५७:३९ | दीपक भट्ट

रामेछाप – उत्तरी र दक्षिणी उच्च हिमाली क्षेत्रमा किसानहरुले लगाएको अलैँचीमा मुना र जरा मर्ने रोग देखा परेपछि किसानले सयाैँ रोपनी क्षेत्रफलमा लगाएको अलैँचीमा क्षति पुगेकाे छ । 

रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने दोरम्बा र सुनापती गाउँपालिकामा विशेषगरी अलैँची खेती गरिँदै आएको छ । गएकाे वर्षदेखि देखा परेकाे राेग यसपाला पनि भेटिएपछि किसानहरु चिन्तित भएका छन् । अलैँचीको बाेटमा पात पहेँलो भएर खुइलिने, पातमा किरा लागेर छियाछिया पार्ने र अलैँचीको मुना बिस्तारै र जरा नै कुहिएर विरुवा मर्ने गरेको छ । 

एक बाेटबाट सुरु भएको यो रोग अहिले सबै किसानको अलैँची बगानभर नै फैलिएकाे छ ।

रोग पहिचान गराउन किसानहरु गाउँपालिकाको कृषि सेवा केन्द्रमा गए पनि प्राविधिकले अलैँचीमा देखा परेको रोग पत्ता लगाउन नसकेको गोकुलगंगा गाउँपालिका-३, रस्नालुका अलैँची किसान तेम्बा शेर्पा बताउनुहुन्छ । 

सुरुका वर्षमा उत्पादन भएको अलैँची प्रति किलो २ हजार ५ सय रुपैयाँसम्म किसानको घरबाटै बिक्री वितरण भएपछि किसानमा थप हौसला जागेको थियो । उत्पादित अलैँची लिन व्यवसायीहरु गाउँमै पुग्न थालेपछि किसानहरु अन्य बाली छाेडेर अलैँची खेती तर्फ आर्कषित भएका थिए । रामेछापबाट झण्डै १५ टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । 

किसानले अघिल्ला वर्षमा अलैँची बिक्रीबाट मात्रै झण्डै ३ करोड रुपैयाँ आम्दानी गरेका थिए । तर गएको वर्षदेखि अलैँची बिक्रीमा गिरावट आएको छ २ हजार ५ सयमा बिक्री भएको अलैँची अहिले प्रति किलो ७ सय रुपैयाँमा पनि बिक्री भएको छैन । पछिल्लो समयमा एकातिर अलैँचीको भाउ खस्किनु अर्कोतिर रोग देखा परेपछि किसानहरु झन मारमा परेको गोकुलगंगा गाउँपालिका-३ का किसान राजकुमार सुनुवारले बताउनुभयाे ।  

रामेछापको उत्तरी क्षेत्र अन्तर्गत सबैभन्दा बढी अलैँचीको खेती हुने गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा अलैँचीमा अज्ञात रोग देखा परेको हाे ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया