कश्मीरमा टेलिफोन, जम्मूको ५ जिल्लामा इन्टरनेट सुरु

 साउन ३२, २०७६ शनिबार १५:४:२७ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित कश्मीरमा शनिबार गएको १२ दिनदेखि बन्द भएको फोन सेवा आंशिक रुपमा सुरु गरिएको छ । 

जम्मूको पाँच ओटा जिल्लामा 'टू जी' स्पीडको इन्टरनेट सेवा सुरु गरिएको छ भने कश्मीर क्षेत्रमा टेलिफोन सेवाको सुरु गरिएको छ । अहिले १७ ओटा टेलिफोन एक्सचेन्ज सेवा सुरु गरिएको हो । 

बाँकी रहेका सबै टेलिफोन लाइन पनि आइतबार साँझसम्ममा सुरु गरिने बताइएको छ । गएको अगष्ट ५ देखि भारत प्रशासित कश्मीरमा टेलिफोन सेवा बन्द थियो । 

भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० का केही प्रावधान हटाएर केन्द्रशासित राज्यमा विभाजन गरेपछिकाे अवस्थालाई ध्यानमा राख्दै मोबाइल र टेलिफोनलगायत सबै सञ्चार सेवा बन्द गरिएको थियो । 

जम्मू कश्मीरका योजना आयोगका मुख्य सचिव रोहित कांसलले भने, ‘बिहान कश्मीरको ३५ ओटा पुलिस स्टेशनको इलाकामा प्रतिबन्ध केही खुकुलो पारिएको छ ।’

रोहितले केही संवेदनशील ठाउँहरु छोडेर आइतबार साँझसम्ममा सबै टेलिफोन एक्सचेन्ज सेवा सुरु गर्ने जानकारी दिए । जम्मूमा ल्याण्डलाइन र मोबाइल पहिलेदेखि नै सञ्चालनमा आएको र कम्तीमा पाँच ओटा जिल्लामा मोबाइल सेवा पनि सुरु गरेको बताए । 

पत्रकार मोहित कंधारीका अनुसार जम्मूका पाँच ओटा जिल्ला– जम्मू, रियासी, सांबा, कठुआ र उधमपुरमा टू जी इन्टरनेट सेवा सुरु गरिएको हो । 

त्यस्तै मुस्लिम बाहुल्यता रहेको जिल्ला राजौरी, पुंछ, किश्तवाड, डोडा र राबनमा भने अझै इन्टरनेट सेवा सुरु गरिएको छैन ।मुख्य सचिव कांसलले भने, ‘अब सोमबारदेखि हामी सबै प्राथमिक र माध्यमिक स्कूल खुल्ने आशा गरिरहेका छौँ । हामीले शुक्रबार यसबारेमा बताएका पनि थियौँ ।’

सार्वजनिक यातायात सुरु भएको र कुनै अप्रिय घटना नघटेको उनले जानकारी दिएका छन् ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया