देशलाई समृद्ध बनाउन यातायात क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ : गृहमन्त्री थापा

 असार २७, २०७५ बुधबार १५:९:२९ | उज्यालो सहकर्मी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले देशलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गरेको स्पष्ट पार्नु भएको छ । 

गृहमन्त्री थापाले सबै नेपालीलाई समृद्ध बनाउने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको पनि बताउनुभयो । बुधबार काठमाडांैमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्रमा कायम गरिएको सिन्डिकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने पनि स्मरण गराउनुभयो । 

उहाँले नागरिकलाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताउनुभयो । मन्त्री थापाले सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको बताउनुभयो । उहाँले बहुसंख्यक गरिब नेपालीहरु र रोजगारीको खोजीका विदेशीएका युवाहरुलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया