नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको  क्यानडा भ्रमण नीतिगत नभएको पदाधिकारीको दाबी

 असार २७, २०७५ बुधबार १८:११:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाने क्रममा भएको घटनाक्रमले अहिले विश्वविद्यालयमा विवाद उतपन्न भएको छ । 
 
क्यानडा जाने क्रममा कोइरालालाई गएको शनिबार विमानस्थलबाटै फिर्ता गरिएको थियो । विमानस्थलबाट अपहरणको शैलीमा प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा राखेको भन्दै कोइरालाले यसप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

विश्वविद्यालयका बाँकी पदाधिकारीले भने भ्रमण नीतिगत नभएको गुनासो गरेका छन् । शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले  बुधबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी कोइराला नीति नियम विपरित अटेर गरेर विदेश भ्रमणमा जान खोज्दा विश्वविद्यालयको नै बदनाम भएको आरोप लगाउनुभयो । 

उपकुलपति राजनीतिक रुपमा विवादमा आउनु, नीति नियमबाहिर रहेर काम गर्न खोज्नु र कुलपतिविरुद्ध जथाभावी बोल्नु जस्ता कारणले विश्वविद्यालयको शिर झुकाएको ढकालले बताउनुभयो। उपकुलपति कोइरालाले विधि अनुसार काम गर्न नखोज्दा विभिन्न नकारात्मक परिणामहरु देखापरेको उहाँले दावी गर्नुभयो ।
विश्वविद्यालयको ऐन नियममा रहेर काम गर्न पटकपटक सुझाउँदा पनि उहाँले मनोमानी ढंगले काम गर्न खोजेको ढकालको आरोप छ ।

नेपाल संस्कृत विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियम २०६७ को परिच्छेद २१ को नियम ९४ को उपनियम ४ ‘ज’ मा विदेश भ्रमण गर्नुपरेमा उपकुलपतिले कुलपतिबाट पूर्व स्विकृती लिनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । नियम अनुसार कुलपतिबाट स्विकृती लिनुको साटो शिक्षा मन्त्रालयमा चिठी छोडेर विदेश जान खोज्नु प्राज्ञिक काम नभएको ढकालको आरोप छ ।

संस्कृत सम्मेलनमा सहभागी हुन विदेश गएका व्यक्तिहरु संस्कृत विषयका विज्ञहरु एक जना पनि नभएको र उनीहरुलाई पठाउनेबारे कार्यकारी परिषद्बाट निर्णय पनि नभएको ढकालले बताउनुभयो ।

उपकुलपति कोइरालाले क्यानडा भ्रमणमा सबै बाल्मिकी विद्यापीठ काठमाडौंका मात्रै प्राध्यापकलाई लिएको र उनीहरु सबै गैरसंस्कृत विषयका रहेको ढकालको भनाई थियो । भ्रमणमा गएका अनुसन्धान केन्द्रका निर्देशक काशिनाथ न्यौपाने बौद्ध दर्शन, बाल्मिकी विद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरे नेपाली, प्राध्यापक संघका अध्यक्ष नवराज कट्टेल नेपाली, सहप्राध्यापक लेखप्रसाद निरौला नेपाली, उपप्राध्यापक प्रेमराज न्यौपाने बौद्धदर्शन र उपप्राध्यापक केशव कोइराला तन्त्र विषयका रहेको ढकालले जानकारी दिनुभयो ।

विश्वविद्यालयका कुलसचिव कात्तिकेय झाले पनि उपकुलपतिले प्रक्रिया नपुर्‍याएर विदेश भ्रमण गर्न खोजेको बताउनुभयो । कार्यकारी परिषद्मा निर्णय नगरी र सरकारी प्रक्रिया नपु¥याएर विदेश जान खोज्दा विश्वविद्यालय नै अनावश्यक विवादमा तानिएको उहाँले बताउनुभयो ।

उपकूलपति कोइरालाले भने सबै प्रक्रिया पु¥याएर नीतिगतरुपमै काम गरेको दावी गर्नुभएको छ । कार्यकारी परिषद्बाट तीन जना पदाधिकारी र अन्य प्राध्यापक कर्मचारी गरी सातदेखि नौ जनासम्म क्यानडा जाने निर्णय भएको उहाँले बताउनुभयो । 

केहीको भिसा नलागेपछि अन्त्यमा सम्भव भएका प्राध्यापकलाई लिएर जान खोज्दा विमानस्थलमा दुर्व्यवहार भएको उहाँले गुनासो गर्नुभयो । कुनै कमजोरी नै गरेको भए पनि प्रधानमन्त्रीले प्रक्रिया पु¥याएर आवश्यक कारबाही गर्न सक्ने अवस्था हुँदाहुँदै अपराधिलाई झैं प्रहरी लगाएर नियन्त्रणमा लिँदा प्राज्ञिक क्षेत्रको मानमर्दन भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया