यसरी मनाइयो पाल्पामा रणउजिरेश्वरी भगवतीको ‍विजय उत्सव

 भदौ ७, २०७६ शनिबार १७:१५:३६ | देव पचभैया

 पाल्पा - अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार पाल्पाको तानसेनमा  रणउजिरेश्वरी भगवतीको २०१ औँ विजयउत्सव मनाइएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितिमा विजय उत्सव मनाइएको हो । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आएको छ । अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँच ओटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार ब्यहोर्नु परे पनि जितगढीको यु्द्धमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको सम्झनामा विक्रम सम्वत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । 

शनिबार दिउँसो पाैने एक बजे उठाइएको रथले बजार परिक्रमा गरेको छ । 

जात्राको अघिल्लो शुक्रबार आतिसबाजी, लाखेनाचसँगै भगवतीको रथ उचालेर बली दिइएको थियो । रातभर जाग्राम बसेर भगवतीको महिमा गाइएको र शनिबार बिहानैदेखि पूजा पाठ गरी रथलाई बजार परिक्रमा गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

शुभसाइतमा  सेनाको कर्णेलकाे पूजा र प्रमुख जिल्ला अधिकारीको सरकारी पूजा पछि पन्चे‍बाजासहितको र्‍यालीले भगवतीको रथलाई पाल्पा दरबार परिसर हुँदै बजार परिक्रमा गरेको थियो । भगवतीको मूर्ति राखेर बजार परिक्रमा गराइने रथ बाेक्न ४२ भन्दा बढी कुमाल समुदायका पुरुषहरु खटिँदै आएका छन् ।

साँस्कृतिक झाँकी‍सहितको र्‍यालीका साथमा बजार परिक्रमा गराइने रथको अघिपछि नेपाली सेना, प्रहरी, निजामति कर्मचारी, खेलाडी , विद्यार्थी, स्थानीय संघ संस्थाका प्रतिनिधि, भक्तजन लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय गौरवको इतिहास जोडिएको भगवती जात्रामा सबै जाति, धर्म र समुदायको सक्रिय सहभागिता  रहँदै आएको छ । स्थानीय बिदा दिएर मनाइने भगवतीजात्रा हेर्न छिमेकी जिल्लाबाट समेत भक्तजनहरु भेला भएका थिए ।

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको रणउजिरेश्वरी भगवतीको रथजात्रालाई राष्ट्रिय पर्वकाे मान्यता दिनुपर्ने स्थानीयहरुले माग गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया