मोदीले सुरु गरे, हामी अन्त्य गर्छाैँ : पाकिस्तान

 भदौ ११, २०७६ बुधबार १२:१३:२७ | एजेन्सी
unn.prixa.net

पाकिस्तान पुनः एक पटक भारतको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी गरेको छ । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले यसबारे घोषणा गरेका हुन् । 

मन्त्री चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्णरुपमा भारतको लागि बन्द गर्ने सम्बन्धमा विचार गरिरहेको उनले बताएका छन् । 

अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानी जमिनको प्रयोग गर्दै आइरहेको छ र यसमा पनि प्रतिबन्ध लगाउने चौधरीले बताए । चौधरीले यसका लागि कानुनी औपचारिकता पूरा हुने क्रममा रहेको र चाँडै नै प्रभावमा आउने बताए ।

फवाद हुसैन चौधरीले ट्वीटमा लेखेका छन् ‘प्रधानमन्त्री भारतका लागि पाकिस्तानी हवाई क्षेत्रमा पूर्णरुपमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहनु भएको छ । योसँगै अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तान रुटको प्रयोग गर्दै आइरहेको छ र यसमा प्रतिबन्ध लगाउनेबारे क्याबिनेटमा कुरा पनि उठेको छ । केही कानुनी औपचारिकता बाँकी छ, यो फैसला विचाराधीन छ । मोदीले सुरु गरेका हुन् र हामी समाप्त गर्छाैँ ।’

मन्त्री चौधरीको यो बयान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राष्ट्रको नाममा सम्बोधनपछि आएको हो । इमरान खानले सम्बोधनका क्रममा कश्मीरलाई लिएर पाकिस्तान चुप लागेर नबस्ने बताएका थिए । 

फवाद चौधरीको बयानलाई लिएर भारतमा पाकिस्तानका उच्च आयुक्त समेत रहेका अब्दुल बासितले ट्वीट गर्दै भने, ‘यी कुराहरुको फैसला अघि नै तपाईं किन सार्वजनिक गर्दै हुनुहन्छ ? यो असमझदारीपूर्ण राजनीति र लापरवाहीपूर्ण कूटनीतिको पहिचान हो ।’

यसअघि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेपछि पाकिस्तानले भारतलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया