नक्कली नोटसहित पक्राउ परेका ‘लूट’का निर्माता छुट्लान ?

 जेठ ७, २०७५ सोमबार ९:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

wagle

गएको बुधबार महानगरीय प्रहरी अपराध महाशााखाले २ करोड ६० लाखभन्दा धेरै नक्कली रुपैयाँसहित छ जना कारोबारीलाई सार्वजनिक गर्‍याे ।

सबै नोटहरु एक हजार रुपैयाँ दरका थिए । नोटसँगै नोट छाप्न बनाइएको प्लेटसमेत सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका नोटहरु एकै नम्बरका थिए भने कुनै कुनै नोटमा ‘नक्कली, चलचित्र प्रयोजनका लागि’ लेखिएको थियो ।

पक्राउ पर्नेमा अन्य पाँचजनासहित चलचित्र निर्माता माधव वाग्ले पनि थिए । उनको कोठाबाट मात्रै एक हजार दरको २ करोड ५२ लाख रुपैयाँ बराबरको रकम बरामद गरिएको थियो ।

प्रहरीका अनुसार नक्कली नोटका रुपमा बरामद भएको यो अहिलेसम्मकै ठूलो परिमाण हो ।

वाग्लेले आफू फिल्म निर्माता भएको, ‘चंगा चेट’ भन्ने फिल्म शुटिङका लागि त्यो रकम साथीमार्फत मगाएको र प्रहरीले कुरै नबुझी बेकारमा प्रेस बोलाएर हंगामा गरेको अभिव्यक्ति दिएका थिए । तर धेरैले उनको ‘चंगा चेट’ भन्दा ‘लूट’ भन्ने फिल्म बढी रुचाएका थिए । तर उनले ‘लूट’को कुरा गरेनन् ।

उनको चलचित्र लूटमा बैंक लुटेर रातारात करोडपति बनेको कथा थियो । वास्तविकतामा भने उनी नक्कली नोटसहित पक्राउ परेका थिए ।

उनका साथीले पनि प्रेसधनी अर्का साथीसँग फिल्मका लागि ल्याएको र आफूलाई त्यो रकम बजारमा प्रयोग भएकोबारे थाहा नभएको अभिव्यक्ति दिएका थिए । त्यसो भन्दै गर्दा पत्रकारहरुका माझबाट केही सान्दर्भिक प्रश्नहरु आएका थिए ।

१. फिल्म प्रयोजनका लागि मात्र थियो भने किन सबै नोटमा ‘नक्कली, फिल्म प्रयोजनका लागि’ भन्ने हरफ किन छापिएन ?

२. फिल्म प्रयोजनका लागि दुवैतिर मिलाएर नोटकै हिसाबले किन छाप्नुपर्यो ? एक साइडमात्र नोट जस्तो बनाउन सकिंदैन थियो ?

३. फिल्म प्रयोजनका लगि त्यति धेरै परिमाणमा किन छाप्नुपथ्र्यो ? बण्डलको माथि मात्र नोटको प्रतिलिपी राखेर बाँकी कागजको बण्डल प्रयोग गर्न सकिंदैनथ्यो ?

यी सबै प्रश्नहरुको जवाफ भने उनीहरुले दिन पाएनन् । उनीहरु बोल्न खोज्दै गर्दा उनीहरुलाई प्रहरीले भ्यानमा राखेर लगेका थिए । उनले बचाउ गर्ने मौका पाएका भए के तर्क प्रस्तुत गर्थे त्यो उनैलाई थाहा छ । तर त्यो तर्क पत्रकारसामु नभई अदालतसामु पेश गर्ने हो ।

अारोपी मात्र भएकोले अदालतमा आफ्नो बचाउ गर्ने सम्पूर्ण अधिकार उनीसँग छ । यदि आपराधिक मनशाय वा मनोवृत्तिले गरेको होइन भने यसै अधिकारका हिसाबले उनले आफूलाई निर्दोष सावित गर्न हरसम्भव प्रयास गर्लान् नै ।

नोट छाप्न पाइन्छ कि पाइन्न ? के हुन्छ कारबाही ?

नक्कली नोट सार्वजनिक गर्ने क्रममा नक्कली नोट छाप्न पाइन्छ कि पाइंदैन भन्ने पत्रकारहरुको जिज्ञासाहरुको उत्तर दिंदै प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज खनालले भन्नुभयो, नोट छाप्न अधिकारप्राप्त निकाय राष्ट्र बैंक हो, त्यसबाहेक सामान्यतयाः अरुले छाप्न मिल्दैन ।

‘छाप्नैपर्ने भएमा नोट छाप्नुको प्रयोजन खुलाउनुपर्ने, प्रत्येक नोटमा ‘नक्कली’ लेख्नुपर्ने र काम सकिएपछि नष्ट गर्नुपर्ने हुन्छ,’ पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार यो घटनामा प्रयोजन नखुलाइएको, कुनै कुनै नोटमा मात्र नक्कली लेखिएको र कतिपय नोट बजारमा पनि गइसकेपछि उजुरीका आधारमा पक्राउ गरिएकोले प्रकृयाअनुसार कारबाही अगाडि बढ्छ । 

खोटाचलनमा प्रमाणित भयो भने बिगो बमोजिमको जरीवाना र दश वर्षसम्मको कैद हुन सक्छ ।

यसै सन्दर्भमा नोट छाप्न नपाइने र कुनै प्रयोजनका लागि छाप्नै पर्ने भएमा सम्बन्धमा निकायबाट स्वीकृति लिएरमात्र गर्नुपर्ने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भन्नुभयो, ‘कुनै पनि हिसाबले कुनै व्यक्ति वा संस्थाले नोट छाप्नु सरासर गैरकानूनी हो । छाप्नैपर्ने भएमा सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सम्बन्धित निकायबाट औपचारिक स्वीकृति लिनुपर्छ ।’

प्रवक्ता पौडेलका अनुसार जुन प्रयोजनका लागि छापिएको हुन्छ त्यो काम सकिएपछि नष्ट गर्नुपर्ने हु्न्छ । पौडेलले बताए अनुसार यस घटनामा राष्ट्र बैंकबाट अनुमति लिएको नदेखिएको र प्रहरीले सुराकीका आधारमा छापा मारेर यति ठूलो रकम बरामद गरेको अवस्थामा चलचित्रको प्रयोजनको लागि गरेको भन्ने तर्क बचाउका लागि गरिएको तर्क मात्र हो ।

‘स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेर कारबाही अगाडि बढाइसकेको अवस्थामा अब प्रचलित नियमकानून अनुसार सजाय हुन्छ ।’ पौडेलले भन्नुभयो । राष्ट्र बैंकले बरामद नोट नक्कली नै भएको पुष्टी गरिसकेको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया