किन डुब्छ काठमाडाै‌ं उपत्यका ?

साँघुरिँदै खोला नाला, बढ्दै डुबान

 असार २८, २०७५ बिहिबार १४:४२:३२ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा एकै परिवारका ३ जनाले ज्यान गुमाए । काठमाडौं, भक्तपुर, काभ्रेलगायतका जिल्लामा सयौँ घर डुबानमा पर्यो  ।  

भक्तपुरको चाँगुनारायण नगरपालिका –७, मझुवा टोलमा पहिरोले घर पुर्दा सुतिरहेका हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भयो ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

यस्तै वर्षाका कारण भक्तपुरको राधेराधे, जगाती, मध्यपुर थिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट, दुवाकोटलगायतका क्षेत्र जलमग्न हुन पुग्यो । डुबानका कारण जगातीबाट कमलविनायक जाने सडक आज बिहान आवत–जावत नै ठप्प हुन पुग्यो ।  

डुबान क्षेत्रबाट १५० जनाभन्दाको उद्धार गरियो । उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा जुटेका थिए । राधेराधे डुबान क्षेत्रमा फसेका केहीलाई नेपाली सेनाले क्रेन र डुंगाको सहायतामा उद्धार गर्नुपर्यो ।  

काभ्रेको नमोबुद्धमा आएको रोशी खोलाको बाढीमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर नै प्रयोग भयो ।  भक्तपुरको सिद्धि अस्पताल क्षेत्रमा रहेकोे एउटा पुल बाढीले बगाएपछि त्यहाँ पनि आवतजावत अवरुद्ध बन्न पुग्यो ।  

बुधबार रातिदेखि परेको पानीले भक्तपुरको मुख्य शहरी क्षेत्र डुबानमा पर्यो । बाढीको खतरा बढेपछि काठमाडौंको बल्खु क्षेत्रका आठ घर पनि खाली गराइयो ।

हुन सकेन पूर्व तयारी 

मनसुनी वर्षासँगै बाढी, पहिरो र डुबानले समस्या उत्पन्न गराउने गरेको छ । नेपालमा बाढीपहिरो र डुबानको समस्या हरेक वर्ष हुने गर्छ । तर, क्षति न्यूनीकरणका लागि पूर्व तयारीमा भने सरकार असफल जस्तै बन्ने गरेको छ ।  

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक हो । बाढी पहिरो आउनुअघि नै सरकारले उच्च सतर्कता अपनाउन सके राम्रो । सबैको आशा पनि त्यही हो । तर अहिले मनसुनको सुरुवातमै बाढी र पहिरोले धनजनको क्षति पुर्याउन थालिसकेको छ । मुख्य वर्षा हुँनै बाँकी छ ।

तर, सरकारले जुन गतिले विपद् व्यवस्थापनमा सक्रियता देखाइरहनुपर्ने हो, त्यो गति देखाउन सकिरहेको छैन । ‘वर्षा सुरु हुनु अगावै राज्यले सतर्कता अपनाउनु पर्दथ्यो’ भूगर्भविद् श्रीकमल द्विवेदी भन्नुहुन्छ, ‘समयमै सतर्कता अपनाउन नसक्नु यो राज्यको कमजोरी हो ।’  

‘प्राकृतिक प्रकोप भनेको कसैले रोकेर रोकिने कुरा होइन र बाजा बजाएर आउने कुरा पनि होइन ।’ तर, समयमै सतर्कता अपनाउन सकियो भने यसबाट हुने क्षतिलाई न्यूनीकरण भने गर्न सकिन्छ ।’

शहर डुबान

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा पछिल्लो २४ घण्टामा ९३.६ मिलिलिटर पानी पर्यो । यो यस वर्षकै उच्च वर्षा हो । 

यसअघि काठमाडौंमा २४ घण्टाभित्र ९८ मिलिलिटरसम्मको वर्षा भएको रेकर्ड छ । महाशाखाका अनुसार सन् २००२ मा काठमाडौंमा १७७ मिलिलिटरसम्मको वर्षा भएको थियो । 

त्यो समयमा अहिले जस्तो घना बस्ती र काठमाडौंका खोलाहरु पनि अहिले जस्तो साँघुरा थिएनन् । त्यसैले उत्तिसारो डुबानको समस्या आउँथेन । 

तर अहिले बर्खाका बेला पर्ने पानी निकास हुने सबै खोलाहरु अतिक्रमणले साँघुरिएका छन् । बस्ती पनि उत्तिकै बढेको छ । ढल निकासका लागि समेत आवश्यक नाला नरहेको काठमाडौं भक्तपुर क्षेत्रमा वर्षापछिको पानी निकास हुन नसक्दा डुबान हुने गरेको छ । 

काठमाडौंको विष्णुमती, धोव खोला, मनोहरा, भक्तपुरको हनुमन्ते खोला अतिक्रमणको चपेटाले अहिले साँघुरिएको छ । सबै खोलाको पानी मिसिएर उपत्यका बाहिरिने बागमती खोला पनि पहिले जस्तो खुला छैन ।

खोलाको तिरैतिर बनाउने भनिएको सडक पनि व्यवस्थित रुपमा बनाउन नसक्दा बागमती झनै साँघुरिदै गएको छ । बागमती काठमाडौं उपत्यकाको पानी निकासीको एक मात्र विकल्प हो । तर यो नै साँघुरिएपछि पानी निकासीमा समस्या हुँदा डुबानको समस्या देखिएको भूगर्भविद् द्विवेदी बताउनुहुन्छ ।  

खोलानाला पुरेर भौतिक संरचना बनाउने, खोलालाई साँघुरो नाला जस्तो बनाउँदै गएकाले यस्तो समस्या देखिएको हो,’ उहाँले भन्नुभयो, ‘यसको वैकल्पिक उपाय नखोज्ने र पूर्वतयारीमा ध्यान नदिने हो भने झनै ठूलो क्षति पुर्याउने निश्चित छ ।’ 

नदीलाई छोड्नु पर्ने जति ठाउँ छोडेर मापदण्ड अनुसारका भौतिक निर्माणका कार्य नहुने, प्लटिङ गरेर घर बनाउने गर्दा अहिलेको समस्या आएको हो । 

एक सय वर्ग किलोमिटरभन्दा ठूलो क्षेत्रमा फैलिएको जलाधारको लागि त्यसमा प्रवाह हुन सक्ने बहावको सही मुल्याङ्कन नगरी संरचना निर्माण भएकाले भक्तपुर डुबानमा परेको विज्ञहरूको भनाइ छ । पछिल्लो चार वर्षमा भक्तपुरमा डुबान भएको यो दोस्रो पटक हो । 

(तस्बिरहरु रासस)
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया