कश्मीर‍मा सेनाले स्थानीयलाई चरम यातना दिएकाे आरोप

 भदौ १३, २०७६ शुक्रबार १७:२८:३८ | एजेन्सी

संवैधानिक स्वायत्तता समाप्त गर्ने सरकारको फैसलापछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले स्थानीयमाथि पिटाइ र यातना दिएको आरोप लागिरहेको छ । 

कैयौँ गाउँका मानिसहरुले आफूहरुलाई डण्डा र केबलको तारको माध्यमले पिटिएको र बिजुलीको झड्का दिएको सञ्चारमाध्यम बीबीसीलाई बताएका छन् । केही मानिसहरुले पत्रकारलाई आफ्नो शरीरमा भएको घाउ देखाए तर बीबीसीले यी आरोपको पुष्टि भने अधिकारीमार्फत् गराउन पाएन । 

भारतीय सेनाले भने यी आरोपहरुलाई ‘आधारहीन र अप्रामाणिक’ बताएको छ ।

प्रतिबन्धका कारण गएको तीन हप्ताभन्दा बढी समयदेखि कश्मीर ‘बन्द’ को स्थितिमा छ । गएको अगष्ट ५ मा कश्मीरको विशेष राज्यको दर्जा हटाइएपछि त्यहाँका सूचनाहरु पनि निकै कम मात्रामा प्रकाशमा आएका छन् ।   

यस क्षेत्रमा दशौँ हजार अतिरिक्त सुरक्षाबल तैनाथ भएका छन् र स्थानीय नेता, व्यापारीहरु तथा सामाजिक कार्यकर्तालगायत ३ हजार जनालाई हिरासतमा राखिएको बताइएको छ । केही व्यक्तिहरुलाई राज्य बाहिरको जेलमा पठाइएको छ । 

प्रशासनले भने इलाकालाई कानुनी व्यवस्थामा राखिराख्न सावधानीको रुपमा कारबाही गरिएको बताएको छ । जम्मू कश्मीर मुस्लिम बाहुल्य राज्य हो तर अब यसलाई दुई केन्द्रशासित प्रदेशमा बाँडिएको छ । 

तीन दशकभन्दा बढी समयदेखि भारतीय सेना यहाँ पृथकवादीसँग लडिरहेका छन् । भारतले पाकिस्तानमाथि कश्मीर इलाकामा चरमपन्थीको समर्थन गरेर हिंसालाई भड्काएको आरोप लगाउँदै आएको छ । तर पाकिस्तानले भने यो आरोपको खण्डन गर्दै आइरहेको छ । पाकिस्तानले कश्मीरको एउटा भागमा नियन्त्रण गरेको छ । 

पुरै भारतमा कैयौँ व्यक्तिहरुले धारा ३७० हटाइएको स्वागत गरेका छन् र यो साहसिक फैसलाको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ पनि गरेका छन् । सरकारको यो कदमलाई मूलधारका सञ्चारमाध्यमले पनि प्रशंसा गरेका थिए । 

बीबीसीका पत्रकारले भारत विरोधी चरमपन्थी गढका रुपमा चिनिने दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँको यात्रा गर्दा धेरै मानिसहरुले सेनाले रातमा छापा मार्ने, पिट्ने र यातना दिने गरेको जस्ता घटनाहरु धेरैका मुखबाट सुने साथै सुरक्षाबलको पिटाइका कारण भएको घाउ गाउँलेहरुकाे जिउमा देखे ।

यसका साथै त्यहाँका डाक्टर र स्वास्थ्य अधिकारी पनि पत्रकारहरुसँग कुनै पनि बिरामीको बारेमा कुरा गर्नबाट तर्किने गरेकाे पाए ।

एउटा गाउँमा मानिसहरुले धारा ३७० खारेजको घोषणासँगै दिल्ली र कश्मीरबीचको दशकौँ पुरानो व्यवस्था समाप्त भएको बताए र त्यसको केही घण्टामा नै सेनाहरु घरघरमा गएको बताए । यसै क्रममा भेटिएका दुई भाइहरुले आफूहरुलाई उठाइएको र गाउँका झण्डै एक दर्जन पुरुषहरु भएको ठाउँमा लगिएको आरोप लगाए । 

बीबीसीका ती पत्रकारले भेटेका बाँकी मानिसहरु जस्तै उनीहरु पनि कारबाहीको डरले आफ्नो पहिचान खुलाउन मानेनन् । 

उनीहरुमध्ये एक जनाले भने, ‘उनीहरुले हामीलाई पिटे । हामीले के गर्यौँ भनेर उनीहरुलाई सोधिरहेका थियौँ । तपाईँ गाउँलेसँग सोध्न सक्नुहुन्छ, यदि हामीले झूट बोलेको र केही गलत गरेका भए । तर उनीहरु केही पनि सुन्न तयार थिएनन् । उनीहरुले केही पनि भनेनन्, उनीहरुले केवल हामीलाई पिटिरहे ।’

ती व्यक्तिहरुले आफूले भाेगेकाे यातना यसरी वर्णन गरे, ‘उनीहरुले हाम्रो शरीरको हरेका अंगमा हिर्काए । हामीलाई खुट्टाले हाने, डण्डाले पिटे, बिजुलीको झड्का दिए, केबलको तारको हामीलाई पिटे । हाम्रो पैतालामा पनि हिर्काए । पिटाइका कारण बेहोश भयौँ भने हाेसमा ल्याउन उनीहरुले बिजुलीको झड्का दिन्थे । डण्डाले पिट्दा चिच्यायाे भने उनीहरुले हाम्राे मुखमा फोहोर काेचिदिन्थे ।’  

उनीहरुले अगाडि बताए, ‘हामीले उनीहरुलाई आफूहरु निर्दाेष रहेको बतायौँ । किन यस्तो गरेको ? भनेर हामीले सोध्यौँ तर उनीहरुले हाम्रो केही कुरा पनि सुनेनन् । मैले उनीहरुलाई हामीलाई नपिट बरु गोली हान भनेँ । म खुदालाई आफूसँग हामीलाई पनि बोलाउन भनिरहेको थिएँ किनकि यातना निकै असहनीय थियो ।’

एक जना अर्कै गाउँका युवकले सुरक्षाबलले आफूलाई बारम्बार ‘ढुंगा हान्नेहरुको नाम भन्’ भनेर सोधिरहेको बताए, उनीहरु अधिकांश युवा र किशोरहरुलाई धम्की दिइरहेका ती किशाेरले बताए । 

ती युवकले आफूलाई केही थाहा नभएको र त्यसपछि उनीहरुले चस्मा, कपडा र जुत्ता फुकाल्नको लागि भनेको बताए । 

‘जब मैले आफ्नो कपडा फुकालेँ, उनीहरुले मलाई फलामे रड र डण्डाले झण्डै दुई घण्टासम्म नमज्जाले पिटे । म बेहोस भएपछि मलाई होसमा ल्याउन बिजुलीको झड्का दिए ।’

उनले भने, ‘यदि उनीहरुले फेरि पनि ममाथि त्यस्तै गरे भने म जे पनि गर्न तयार हुनेछु, म बन्दुक उठाउनेछु । म प्रत्येक दिन यो यातना सहन सक्दिनँ । सैनिकहरुले मसँग यदि कसैले पनि सुरक्षाबलको विरुद्ध प्रदर्शनमा भाग लियो भने त्यसले पनि यस्तै नतिजा भोग्नु पर्नेछ भनेर धम्की दिए।’
सबै गाउँमा हामीले जति मानिसहरुसँग कुरा गर्यौँ उनीहरु सबैले सुरक्षाबलले आफूहरुलाई यसरी नै धम्की दिने गरेका बताए ।   

भारतीय सेनाको जवाफ    

सञ्चारमाध्यम बीबीसीलाई पठाइएको जवाफमा भारतीय सेनाले भनेको छ, ‘आराेप लगाइएजस्ताे कुनै पनि नागरिकलाई उनीहरुले मारपिट गरेका थिएनन् ।’

सेनाका प्रवक्ता कर्नेल अमन आनन्दले भने, ‘यस्तो किसिमको कुनै विशेष आरोप हाम्रो बलमाथि लगाइएको छैन । यो आरोप विरोधी तत्वको तर्फबाट प्रेरित हुन सक्छ । नागरिकहरुको रक्षा गर्नको लागि कदम उठाइएको थियो तर सेनाको तर्फबाट कारबाहीको क्रममा कोही घाइते वा हताहत भएका छैनन् ।’

कश्मीरको यसै क्षेत्रमा पुलवामा जिल्ला छ, जहाँ गएको फेब्रुअरीमा एउटा आत्मघाती आक्रमणमा ४० बढी भारतीय सैनिकले ज्यान गुमाएका थिए, यही कारणले भारत र पाकिस्तानबीचको तनाव बढ्दो छ । 

यो त्यही इलाका हो जहाँ कश्मीरी चरमपन्थी बुरहान वानी सन् २०१६ मारिएका थिए, त्यसपछि धेरै युवा र आक्रोशित कश्मीरी भारतविरुद्ध सशस्त्र विद्रोहमा सामेल भएका छन् । 

यो इलाकामा सेनाको एउटा क्याम्प छ । जहाँबाट चरमपन्थी र समर्थकलाई समात्न सैनिक नियमित रुपमा खोजतलास अभियान चलाउँछ तर गाउँलेहरु भने दुई तर्फको कारबाहीमा आफूहरु फस्ने गरेको बताउँछन् । 

एक गाउँमा मैले एक नौजवानलाई भेटेँ । उनले चरमपन्थीविरुद्ध सूचना नदिए सेनाले फसाउने धम्की दिएको बताए । तर उनले स्वीकार नगरेपछि आफूलाई नमज्जाले पिटेको र दुई हप्तापछि मात्र उठ्न सकेको बताए । 

उनले भने, ‘यदि यो जारी रहे मैले घर छोड्नुको कुनै विकल्प छैन । उनीहरु हामीलाई जनावर जसरी पिट्ने गर्दथे, हामीलाई मानिस नै ठान्दैनथे ।’

एक जना मानिसले ती पत्रकारलाई घाउ देखाउँदै आफूलाई जमिनमा ढलाएर ‘१५/१६ जना सैनिकले बन्दुक, डण्डा र फलामे रड’ ले पिटेको बताए । ‘म बेहोस हुने अवस्थामा पुगेको थिएँ । उनीहरुले मेरो दाँत नै बाहिर निक्लेला जसरी दारी ताने’, उनले भने । 

यो मारपिटको क्रममा त्यहाँ रहेका एक जना बालकले उनलाई एक जना सैनिकले उनको दारी जलाउने कोसिस गरेका थिए तर अर्का सैनिकले उनलाई रोकेकाे बताएका थिए । 

पत्रकारकाे अर्काे गाउँमा एकजना युवसँग भेट भयो जसका भाइ दुई वर्ष पहिले भाइ हिज्बुल मुजाहिदीनमा सांलग्न भएका थिए । हिज्बुल मुजाहिदीनमा भारत प्रशासित कश्मीरमा लड्ने ठूलो समूहमध्ये एक हो । 

हालै एक सैनिक क्याम्पमा उनीसँग सोधपुछ गरिएको र आफूलाई यातना दिइएको र एउटा खुट्टा भाँचिएको उनले बताए । उ नले भने, ‘उनीहरुले मेरो हात र खुट्टा बाँधेर मलाई उल्टो गरेर झुण्ड्याए । दुई घण्टासम्म उनीहरुले मलाई नराम्रोसँग पिटे ।’

तर सेनाले भने यी सबै अत्यारचार नगरेको बताएको छ । 

आरोपहरुको जाँच

बीबीसीलाई पठाइएको आफ्नो बयानमा सेनाले भनेको छ, ‘हिज्बुल मुजाहिद्दिन एउटा मानव अधिकार बुझ्ने र त्यसको इज्जत गर्ने पेशेवर संगठन हाे र यी सबै आरोपको तुरुन्त जाँच गर्दैछ ।’ 

बयानमा भनिएको छ– पछिल्लो पाँच वर्षमा मानव अधिकारको तर्फबाट उठाइएको ३७ विषयमध्ये २० ओटा मुद्दा निराधार रहेको पाइएको छ । १५ को जाँच चलिरहेको छ र केवल तीन आरोपको विषय जाँच गर्न लायक छन् । दोषी भेटिएको खण्डमा सजाय हुनेछ ।

यद्यपि यो वर्षको सुरुवातमा पछिल्लो तीन दशकमा कश्मीरमा कथित मानव अधिकार उल्लंघनका सयौँ घटना संकलन गर्ने गर्ने दुई प्रमुख कश्मीरी मानव अधिकार संगठनले एउटा रिपोर्ट जारी गरेका थिए । 

संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले पनि कश्मीरमा मानव अधिकार उल्लंघन आरोपको विधिवत र स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचको लागि ‘जाँचबुझ आयाेगको माग गरेको थियो । जसले इलाकामा सुरक्षाबलको तर्फबाट अत्याधिक बलप्रयोग गरेको बारे ४९ पेजको एक रिपोर्ट पनि जारी गरेको छ । 
भारतले भने यी सबै रिपोर्ट र आरोपको खण्डन गरेको छ । 

कश्मीरमा के भैरहेको छ ?

भारत र पाकिस्तान दुवै कश्मीर आफ्नो बनाउन चाहन्छन् । यी दुई देशले एक-एक हिस्सा नियन्त्रणमा लिएका छन् । यस क्षेत्रलाई लिएर दुई देशबीच युद्ध भैसकेको छ र बेलाबेला सानातिना संघर्ष पनि भैरहन्छन् । 

भारतको नियन्त्रणमा रहेको जम्मू कश्मीर राज्यलाई हालसम्म भारतीय संविधान को धारा ३७० को अनुसार स्वयत्तता हासिल थियो । 

अगष्ट ५ मा भारत सरकारले धारा ३७० लाई प्रभावहीन बनायो । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्तारुढ भारतीय जनता पार्टी पनि कश्मीरको दर्जा देशकाे अन्य भागहरुकाेजस्तै हुनुपर्ने तर्क थियो । 

त्यही समयदेखि कश्मीरको अवस्था सामान्य हुन सकेको छैन । केही ठूला प्रदर्शन पनि भएका छन् । पाकिस्तानले यसमाथि तिखो प्रतिक्रिया जनाउँदै हस्तक्षेपका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको छ ।

'बीबीसी' हिन्दीबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया