राजनीतिक गन्जागोलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : सडकमा पक्ष र विपक्षमा नाराबाजी, प्रहरी प्रमुखको सरुवा

 भदौ १४, २०७६ शनिबार १०:३४:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – बिरामीलाई निको बनाएर घर पठाउने दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यति बेला आफै थला परेको छ । स्थापना कालदेखि नै विवादमा मुछिएको प्रतिष्ठान पछिल्लो एक हप्तादेखि थप अशान्त र तनावग्रस्त वातावरणमा गुज्रेको छ ।

नेपाली कांग्रेसको सरकार रहेको बेला २०७४ असोज २९ गते स्थापना भएको यस प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. संगिता भण्डारी नियुक्त हुनु भएको थियो । त्यसपछि बनेको नेकपाको सरकारले उपकुलपति भण्डारी र रजिष्ट्रार रामप्रसाद प्याकुरेलाई बर्खास्त गर्‍यो । सरकारको निर्णयप्रति आपत्ति जनाउँदै दुवै जना सर्वोच्च अदालत जानुुभयो । अदालतले सरकारको निर्णयलाई बदर गर्‍यो । उहाँहरु पुुनः काममा फर्कनुभयो ।

यही विषय नै पटक–पटक विवादमा आउने गरेको छ । महेन्द्र अस्पताल हुँदै तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालका रुपमा रहेको अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि अझ गुणस्तरीय स्वास्थ्य पाइएला भन्ने स्थानीय नागरिकले सपना देखेका थिए । तर अहिले प्रतिष्ठान अस्पतालभन्दा पनि दलीय शक्ति परीक्षणको केन्द्र बनेको छ ।

प्रतिष्ठानको माहोल बिग्रनुमा राजनीतिक दलहरु एक अर्काप्रति दोषारोपण गरिरहेका छन् । फलस्वरुपः गएको आइतबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि आन्दोलन थालियो । 

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ’ नामक समिति बनाएर आन्दोलन थालियो । जसमा सत्तारुढ पार्टीका कार्यकर्ता र समर्थकले नै अगुुवाइ गरे । आन्दोलनका क्रममा रजिष्ट्रार प्याकुुरेलमाथि हातपात र दुर्व्यवहार गरियो ।

प्रमुख दल दुुई खेमामा

प्रतिष्ठानको विषयमा दाङमा रहेका प्रमुख दल नेपाल कम्युुनिष्ट पार्टी र नेपाली कांग्रेस दुुई  खेममा विभाजित भएका छन् । नेकपा दाङको जिल्ला समितिले विज्ञप्ति निकालेर प्रतिष्ठानको विकास नहुुनुमा उपकुलपति संगिता भण्डारी नै मुख्य दोषी भएको भन्दै राजीनामा दिएर बाटो खोलिदिन आग्रह गर्दै आन्दोलनकारीको समर्थन गरेको छ ।

प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएसँगै डाक्टर संगिता भण्डारीले संविधानले ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्यसँग सम्बन्धित मौलिक हकमा भएको व्यवस्थाको उल्लंघन गरी राज्यले प्रदान गरेका र पहिलेको राप्ती उपक्षेत्रीय अस्पतालले समेत प्रदान गरेका सुरक्षित मातृत्व, आमा सुरक्षा कार्यक्रम, पोषण पुनःस्थापना गृह, सिकलसेल एनिमियालगायतका स्वास्थ्य सेवा बन्द गराएको आरोप नेकपाको छ ।

प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा चिकित्सकसँग समन्वय कायम गरी काम गर्नुपर्नेमा जिम्मेवारी सम्हालेदेखि नै सबैसँग जुहारी खेल्दै प्रतिष्ठानबाट बर्खास्त गर्ने काम उपकुलपतिले गरेको नेकपाले आरोप लगाएको छ ।

तर नेपाली कांग्रेस दाङले भने सरकारले उपकुलपतिलाई राजीनतिक आस्थाका आधारमा काम गर्न नदिएको आरोप लगाएको छ । उपकुलपति आएदेखि नै विभिन्न बहानामा आफूू समर्थकलाई आन्दोलनमा उक्साइ काम गर्न नदिएको आरोप कांग्रेसको छ ।

पछिल्लो समय प्रतिष्ठानमा भएको आन्दोलनका क्रममा रजिष्ट्रार प्याकुुरेलमाथि भएको आक्रमणको काग्रेसले विरोध गर्दै कारबाहीको माग गरेको छ । रजिष्ट्रारमाथि हातपात गर्नेलाई कारबाही गर्न किटानी जाहेरी दिँदा समेत पक्राउ नगरिएको भन्दै उसले घोराही बजारमा र्‍यालीसमेत निकालेको छ ।

भित्र कालोपट्टी, बाहिर नाराबाजी र जुुलुस

पछिल्लो एक हप्तादेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल कम आन्दोलनस्थल बढी भएको छ । जसका कारण उपचारका लागि अस्पताल आउनेको संख्या घट्दो छ भने दलहरुका क्रियाकलापप्रति स्थानीय नागरिक दिक्दार भएको प्रतिक्रिया दिन थालेका छन् ।

सबै मिलेर प्रतिष्ठानको विकासमा लाग्नुपर्नेमा सत्ता पक्ष दल उपकुलपति हटाउन र विपक्षी दल रजिष्ट्रारमाथि हातपात गर्नेलाई  कारबाही गर्न सडकमा उत्रिनुले स्थानीय दिक्क भएका छन् ।

प्रष्ठिानभित्र आन्दोलनका क्रममा रजिष्ट्रार प्याकुुरेलमाथि हातपात भएको विरोधमा आफूहरुको सुरक्षाको माग गर्दै प्रतिष्ठानका डाक्टर र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् भने प्रतिष्ठानबाहिर दिनहुुँजसो पक्ष र विपक्षमा नाराबाजी र जुलुस भइरहेको छ । 

प्रहरी प्रमुखको सरुवा

आन्दोलनका क्रममा रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात र दुुर्व्यवहार गर्नेलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेर दिइयो । तर किटानी जाहेरी दिएको चार दिन बित्यो तर पक्राउ परेनन् । रजिष्ट्रारमाथि हातपात गर्ने व्यक्ति सत्तारुढ दलका कार्यकर्ता रहेको दाबीसहित किटानी जाहेर दिँदासमेत प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले खोजी कार्य भइरहेको प्रतिक्रिया दिएको छ ।

यसबीचमा दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको एकाएक सरुवा भएको छ । दाङ आएको नौ महिनामै सरुवा भएका पाण्डेले प्रतिष्ठानको विषय र मंसिरमा हुने चुनावसँग जोडेर आफ्नो सरुवा भएको हुनसक्ने प्रतिक्रिया दिनुुभयो । ‘प्रतिष्ठानको विषय, मंसिरमा हुने चुुनाव सबैले गर्दा मेरो सरुवा भएको हो’, एसपी पाण्डेले उज्यालोसँग भन्नुुभयो, ‘नर्मल्ली एक वर्ष हो हामीहरु जिल्लामा बस्ने तर विभिन्न कारणले मेरो अहिले नै सरुवा भयो ।’

आफ्नो प्रदेश नम्बर २ को धनुुषामा सरुवा भएको र दाङमा नयाँ एसपीका रुपमा जनक भट्टराई आउनेसमेत एसपी पाण्डेले जानकारी दिनुुभयो ।

काम गर्ने वातावरण छैन : उपकुुलपति भण्डारी 

प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले आफूलाई काम गर्ने वातावरण नै नदिएको दाबी गर्नु भएको छ । आफूहरुले काम गर्न थाल्यो विभिन्न बखेडा निकालेर असहज वातावरण बनाएको उहाँले बताउनुभयो ।

एकातिर सरकारले बजेट नदिने र अर्कोतिर काम भएन भन्ने गरेका कारण समेत सोचेजस्तो काम गर्न आफूलाई अप्ठेरो भएको गुनासो उपकुुलपति भण्डारीको छ ।

निकास खोज : नागरिक समाज

नागरिक समाज दाङले प्रतिष्ठानमा देखिएको समस्या समाधान संवादबाट खोज्न आग्रह गरेको छ । नागरिकको उपचार गर्ने प्रमुख थलो प्रतिष्ठानलाई विवादरहित बनाउनुुपर्ने समाजले जनाएको छ । 

अस्पताललाई राजनीतिक प्रतिस्पर्धा गर्ने थलो बनाएर पार्टीहरुले आफूलाई दिक्क बनाएको नागरिक समाजको गुनासो रहेको छ । दलहरु संवाद र निकास खोज्न भन्दा पनि एक अर्काप्रति आरोपप्रत्यारोप र प्रतिष्ठाको विषय बनाउँदै प्रतिष्ठानलाई थिलथिलो पारेका छन् ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया