विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारको निर्देशन

 असार २८, २०७५ बिहिबार १७:१७:४७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले अविरल वर्षासँगै आइपर्न सक्ने सम्पूर्ण विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । 

बिहीबार गृहमन्त्रालयमा बसेको विपत व्यवस्थापन र न्यूनीकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री रामबहादुर थापाले विपद्को तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

बैठकमा सहभागी विपद्  जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदारबहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकारलगायतसँग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उहाँले जस्तोसुकै विपद्का लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताउनुभयो ।

मन्त्रालयले मौसम पूर्वानुमान सम्बन्धी आवश्यक जानकारी र पूर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधारणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

राहत सामग्री वितरणमा भने एकद्वार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ । मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरणमा सहयोग पुर्‍याउन तथा अनावश्यक चन्दा संकलन गर्ने -गराउने काम नगर्न तथा त्यसतर्फ सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ ।

केही दिन यता मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट मानवीय तथा भौतिक सम्पत्तिको क्षति हुनुको साथै जनजीवन प्रभावित भएको छ । गएरातिको वर्षाबाट भक्तपुरका अधिकांश स्थान डुबानमा पर्नुको साथै काभ्रे, बनेपालगायतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । त्यसैगरी राजधानी बाहिरका पहाडी र तराईका जिल्ला पनि प्रभावित भएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया