८६ वर्षमा नागरिकता पाउँदा हर्षका आँसु

 जेठ ७, २०७५ सोमबार १०:३९:५७ | सुमित्रा कोइराला
unn.prixa.net

‘अबदेखि मैले पनि सरकारले दिने बृद्धा भत्ता पाउने भएँ’ गहभरी आँसु पार्दै ८६ वर्षीया सुनमाया तामाङ्गले भन्नुभयो । रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँकी सुनमाया तामाङ्ग गाउँमै आएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उहाँले हर्षको आँसु थाम्न सक्नुभएन ।

‘नागरिकता नभएकै कारण सरकारले दिने भत्ता पाउन २६ वर्ष पर्खनु पर्याे’ वृद्धा सुनमायाले भन्नुभयो । सरकारले ६० वर्ष पुगेपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएपनि नागरिकताको प्रमाणपत्र नभएको कारण उहाँले भत्ता पाउन सक्नुभएको थिएन ।

नागरिकताको आवश्यकताबारे जानकारी पाएपनि श्रीमानको मृत्युपछि छोराछोरीको लालनपालन गर्दा र जिल्लासम्म जान नसक्दा नागरिकता पाउन नसकेको सुनमायाले आफ्नो बाध्यता बताउनुभयो ।

सरकारी सेवाबाट बञ्चित रहेका नागरिकलाई गाउँगाउँमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले रौतामाई गाउँपालिका र  जिल्ला प्रशासन कार्यालय उदयपुरले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका हुन् ।

प्रशासनले नागरिकता प्रमाणपत्र, कृषिले बीउबिजन वितरण तथा माटो परीक्षण, अस्पतालले बिरामी जाँच तथा औषधि वितरण, महिला तथा बालबालिका कार्यालयले अपांग परिचय पत्र वितरण गरेका थिए ।

शिविरमा सबैभन्दा धेरै नागरिकता बनाउनेको संख्या रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया