गएको वर्ष ५८ हजार पर्यटक खुम्बु पुगे

 भदौ १६, २०७६ सोमबार १४:१०:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – आर्थिक वर्ष २०७५/७६ मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा झण्डै ५८ हजार पर्यटकले भ्रमण गरेका छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा ५७ हजार ९ सय ९० जना पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका हुन् ।

भ्रमण गर्ने पर्यटकमध्ये सार्क राष्ट्रका २ हजार ७ सय ७४ र अन्य देशका ५४ हजार ५ सय १५ जना रहेका छन् । जसमा सार्क राष्ट्रहरुबाट पुरुष २ हजार १ सय ७० र महिला ६ सय ४ जनाले खुम्बु क्षेत्रको भ्रमण गरे । 

त्यस्तै सार्क राष्ट्र बाहेकका ३४ हजार ८ सय ६४ जना पुरुष र १९ हजार ६ सय ५१ जना महिला खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रविन चौधरीले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षमा ७ सय १ जना अन्तरिक पर्यटक पनि खुम्बु क्षेत्र पुगेको निकुञ्जको तथ्यांकले देखाएको छ । जसमा ६ सय ४८ जना पुरुष र ५३ जना महिला रहेका छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्जमा विसं २०७५ सालको कात्तिक महिनामा सबै भन्दा बढी पर्यटक भित्रिएकोे सूचना अधिकारी चौधरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया