महिला मजदुरको प्रश्न : तिज कसरी आउँछ ?

 भदौ १६, २०७६ सोमबार २०:२१:३६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – उमेरले ९० टेकेकी सानीकान्छी तामाङलाई प्रश्न सोध्नेबित्तिकै उहाँको प्रश्न थियो, ‘तिज कसरी आउँछ ?’

तिजको दिन उहाँ चर्को घाममा एक हातमा हम्मर लिएर अर्को हातले ढुंगा समातेर कुट्दै गरेको अवस्थामा भेटिनुभयो । सानीकान्छीले आफू पालिनकै लागि यो उमेरमा पनि गिट्टी कुटिरहनु भएको छ । उहाँ परिवारको एक्लो व्यक्ति हुनुहुन्छ । भूकम्पले घर भत्काएपछि लापाबाट विस्थापित भएर उहाँले सदरमुकाममा गिट्टी कुट्न थाल्नुभएको हो ।

तिजको दिन गजुरी गाउँपालिका वडा नम्बर–५, पोखरेखोलाकी ३५ वर्षीया सानी परियार  त्रिशूली नदीको पानीमा डुबुल्की मार्दै हुनुहुन्थ्यो । व्रत बसेर पूजा गर्नका लागि होइन । बेलुकाको छाकको जोहो गर्न उहाँ बालुवा झिक्न त्रिशूलीमा डुबुल्की मार्दै हुनुहुन्थ्यो ।

एक छाक पेटभरि खान र बालबच्चालाई पढाउने धोकोले हरेक दिन त्रिशूली नदीसँग पौठेजोरी खेल्दै बालुवा झिक्नु उहाँको दैनिकी नै बनेको छ । २ बच्चाकी आमा सानीले श्रीमानसहित नदीमा बालुवा झिक्ने काम गर्न थालेको २० वर्ष भैसक्यो ।

उहाँले बालुवा झिकेको नजिकै एक हुल महिलाहरु आए र नदीमा नुहाए । उनीहरु रंगीचंगी लुगामा सजिएर आएका थिए । तिजको दिनको महिलाहरु आफ्नो अधिकार प्राप्त गरेको दिन जसरी आफ्नो वेदना पोख्दै गीत गाउने नाचगान गर्ने गर्छन् तर सानी परियार भने यो सब कुराबाट टाढा हुनुहुन्छ । ‘गरिबलाई चाडबाड कसरी आउँछ र ?  काम नगरे खान नपाइने भएपछि एक छिनको रमाइलोमा हिँड्न त भएन नि !’, उहाँले भन्नुभयो ।

कुर्तासुरुवाल पानीले भिजेर निथ्रुक्कै  भएको छ । ठिर्‍याउने पानीमा बिहान ६ बजेदेखि झिकेको बालुवाको थुप्रोनजिक पुगेपछि तीन जनाले दिनभरि झिक्न सके एक ट्रक हुने उहाँले बताउनुभयो ।

त्रिशूली नदीमा डुबेर बालुवा झिक्नेहरुको छुट्टै व्यथा छ । तीन–चार जनाले एक दिनमा नदीमा डुबुल्की मारेर एक ट्रक झिक्न सकिन्छ । एक ट्रकको ६ हजार दिन्छन् । यो सबै रकम मजदुरले लिन पाउँदैनन् । झण्डै २० मिटर जति लम्बाइ बाटो प्रयोग गरेर बालुवा सडकमा निकाल्नु पर्छ यो बाटो प्रयोग गरेको करप्रति ट्रिपको मजदुरले २ हजारका दरले तिर्नु पर्ने व्यवस्था गरिएको ४० वर्षीया कान्छीमाया मगरले बताउनुभयो ।

कान्छीमाया मगर पनि तिजको दिन भन्ने थाहा भए पनि परिवार पाल्न श्रीमानसहित नदीमा बालुवा झिक्न आउनु भएको थियो । अघिल्लो दिन निकालेको बालुवासमेत गरी एक ट्रिप बनाएपछि खाना खाने सुरमा थिए उनीहरु ।

केरा बेचेर परिवार पाल्दै आएकी गजुरी गाउँपालिका वडा नम्बर–२, छहर ४० वर्षीया सानीमाया श्रेष्ठलाई पनि तिजले छुन सकेन । ह्वीलचेयरमा बसेर केरा बेच्ने सानीमायाले आफूले व्यापार नगरे बेलुका भात खान नपाइने भएपछि तिज नलागेको हो ।

गाउँपालिकाहरुले खर्च गर्ने गरी गजुरी र बैरेनीमा तिज विशेष कार्यक्रमहरुको आयोजना गरेको छ । मानिसहरु पैसा तिरेर काठमाण्डौबाट ल्याइएको कलाकार हेर्न आए पनि न सन्देशमूलक गीत गाए न गाउँका महिलाहरुले आफ्नो मनको बह पोख्न पाए । यस किसिमको कार्यक्रमले ग्रामीण महिलाहरुलाई केही फाइदा नपुगेको अधिकारकर्मीहरुको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया