भक्तपुर बाढीपहिराे: मृतक परिवारलाई नगद, पीडित परिवारलाई राहत वितरण

 असार २८, २०७५ बिहिबार २०:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - जिल्ला दैवी उद्धार समितिले पहिरोमा परेर मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत रकम दिने निर्णय गरेको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति, नगरपालिकाका प्रमुख, विभिन्न कार्यालयहरुका प्रमुख सहितको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

निर्णय सार्वजनिक गर्दै समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अविरल वर्षाको कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा गाँउमा ज्यान गुमाएका एकै परिवारका तीन जना लार्इ रकम उपलब्ध गराउने बताउनुभयाे ।

उहाँले पहिराेमा परि मृत्यु हुने ७० वर्षीय हिरा लामा, पत्नी ६५ वर्षीया पानमाया र नातिनी २ बर्ष ६ महिनाकी सम्पदाको परिवारलाई जनही एक लाखका दरले ३ लाख रुपैयाँ र तत्काल अस्थायी बसोबासका लागि रु. १० हजार राहत रकम शुक्रबार उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । 

त्यसैगरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक चारैवटा नगरपालिकाले आ–आफनो नगरपालिका क्षेत्रमा विस्थापित भएकाहरुलाई पुनस्र्थापनाको व्यवस्था गर्ने र तत्काललाई बस्ने, खाने र लत्ताकपडानको व्यवस्था गर्ने निर्णय भएको छ । 

त्यस्तै शुक्रबारसम्ममा स्थानीय तहका सबै क्षतिको विवरण संकलन गरिसक्नु पर्ने, खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन तत्काल गर्नुपर्ने, महामारीजन्य रोग लाग्न नदिन जनस्वास्थ्य कार्यालय तयारी अवस्थामा रहनु पर्ने, बाढी, पहिरो र डुबान पीडितहरुलाई एकद्धार प्रणाली मार्फत राहत  वितरण गर्न सम्बन्धित नगरपालिकाँंग समन्वय गर्नुपर्ने निर्णय गरेको छ । 

यसका साथै प्रत्येक नगरपालिकाले विपद् व्यवस्थापन श्रोत केन्द्र स्थापना गर्नुपर्ने, चारवटै नगरपालिकाको समन्वयमा विपद् व्यस्थापनका सामानहरु खरिद गर्नुपर्ने र विपद्को क्षति अनुगमन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको छ । 

छलफलमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरको बाढी, पहिरो र डुबान क्षेत्रको संसददेखि प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले अन्तरनगर सम्बन्धबाट विपद् व्यवस्थापनका आवश्यक सामाग्रीहरु ल्याउनु पर्ने र पूर्व तयारी गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिनिधिसभाका अर्का सदस्य प्रेम सुवालले बाढी र डुबान क्षेत्रमा प्राविधिक टोली मार्फत अध्ययन गराई दीर्घकालिन रुपमा समस्याको समाधान खोज्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ र सुरेन्द्र राज गोसार्इंले दीर्घकालिन रुपमा समस्याको समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । 

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र विभिन्न कार्यालयका प्रमुखहरुले राहत र व्यवस्थापनको कामलाई तीव्रता दिने बताउनु भयो । 

यता नेपाल रेडक्रस सोसाईटी भक्तपुरले बाढी र पहिरोमा परेका ४८ परिवारलाई आजै राहत सामाग्री वितरण गरेको रेडक्रस सोसाईटीका वरिष्ट उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । 

मानवीय आस्था नेपालले पनि आजै मध्यपुरथिमिको डुबान क्षेत्रमा पीडित परिवारलाई विभिन्न राहत सामाग्रीहरु वितरण गरेको संस्थाका संरक्षक एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया