मनपरी भाडा असुल्दै टाटा सुमो

 जेठ ७, २०७५ सोमबार १२:३८:३८ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं, जेठ ७ – काठमाडौंबाट वीरगंज जान बिहानै बल्खु पुग्नुभएकी रक्षा शर्माले सुमो पाउन झण्डै ३ घण्टा कुर्नु पर्यो । शर्मा आफन्त भेट्न रात्रि बसमार्फत काठमाडौं आउनुभएको थियो । फर्कँदा बिहानै जानुपर्ने भएकाले टाटा सुमो भेट्न बल्खु पुग्नुभएको थियो ।

शर्मा जस्तै बल्खुमा पुगेर सुमो कुर्नेहरुको भिड बिहानैदेखि लागेको थियो । बल्लबल्ल ३ घण्टापछि सुमोको अन्तिम सिट पाएकी शर्मा हतार हतार सुमो चढ्नुभयो ।

सुमोवालाले वीरगंजसम्मको भाडा ८ सय रुपैयाँ माग्यो । यसअघि काठमाडौंबाट वीरगंज जाँदा ५३० रुपैयाँ भाडा तिरेको याद छ शर्मालाई ।

नदिउँ भने ३ घण्टापछि बल्लबल्ल सुमो पाइएको छ । दिउँ भने सुमोवालाले मनपरी असुली रहेका छन् ।
  
वीरगंज जाने हतार थियो शर्मालाई । ८ सय रुपैयाँ तिरेरै भएपनि केही नभनी शर्मा वीरगंज लाग्नुभयो ।
 
बाराको डुमरवाना जान लाग्नुभएका दिनेश चौधरी बल्खुमा ४ घण्टा कुर्दा पनि सुमो नपाएपछि फर्कनु भयो ।

सडक निर्माण कार्य चल्दै गरेको बल्खुको धुलो र धुवाँले घण्टौँसम्म सुमो कुरेर बस्न कठिन छ । नकुरे सुमो पाउनै मुस्किल । पाइहाले पनि झण्डै दोब्बरसम्म भाडा तिर्न यात्रुहरु बाध्य बनेका छन् । 

सुमो बल्खुबाट फर्पिङ–कुलेखानी–हेटौंडा हुँदै वीरगंजसम्म पुग्छ । यस्तै पूर्वका चन्द्रनिगाहपुर, निजगढ, लालबन्दीसम्म सुमो जाने गरेको छ । 

तर सुमो व्यवसायीहरुले अहिले गाडीको अभाव रहेको भन्दै यात्रुहरुसँग मनपरी भाडा असुल गरिरहेका छन् ।

यात्रुसँग बढी भाडा असुलेपनि सुमोवालाहरुले काठमाडौंबाट वीरगंजसम्म जाँदा टिकटमा भने ५३० मात्रै लेख्ने गरेको रक्षा शर्माले बताउनुभयो ।     

 

किन मनपरी ?

सर्लाही, रौतहट, वीरगंज र हेटौँडासम्मका लागि बिभिन्न कम्पनीका झण्डै ५ सयवटा सुमो सञ्चालनमा छन् ।

दिनहुँ अहिले २५० सुमो काठमाडौँबाट बाहिरिने गरेको युनिक सुमो सेवाका राजु खरेलले बताउनुभयो । त्यति नै संख्यामा सुमोहरु काठमाडौं भित्रिने गर्छन ।

‘सुमो वनसाइडेड विजनेस हो’ खरेल भन्नुहुन्छ, ‘अहिले वीरगंज र सिमरातर्फबाट काठमाडौं आउने सुमोमा सर्टेज छ । वीरगंज फर्कने यात्रु नपाउँदा सुमोहरु काठमाडौंमा थन्किएकाले वीरगंज, सिमरा क्षेत्रमा सुमो सर्टेज भएको हो ।’ अन्यथा अहिले सुमो अभावको अवस्था नरहेको उहाँले बताउनुभयो ।

यही अभावको मौका छौप्दै वीरगंज, सिमरा क्षेत्रबाट काठमाडौं आउने सुमोवालाहरुले अहिले मनपरी रुपमा यात्रुसँग भाडा असुल गरिरहेका छन् ।

तर यात्रुहरुसँग बढी भाडा असुली गरेको बारेमा भने युनिक सुमोका खरेल अस्वीकार गर्नुहुन्छ । ‘हामीले यात्रुसँग बढी भाडा लिएका छैनौँ । रसिद दिएरै यात्रुहरुसँग भाडा लिन्छौँ’ उहाँले दावी गर्नुभयो, ‘बढी भाडा लिएको भन्नेबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

‘केही चालकहरुले बदमासी गरेर पनि बढी भाडा लिएका हुन सक्छ । तर हामीले काउण्टर बाटै रसिद दिएर भने बढी भाडा लिएका छैनौँ’ उहाँको दावी छ । 

आफ्नो कम्पनीले यात्रुहरुको सेवाका लागि सुमो सञ्चालन गरेको भन्दै खरेलले यात्रुहरुलाई मर्का पर्ने गरी भाडा असुली गरेको भए आफूलाई जानकारी गराउन। नभए नजिकैको प्रहरीमा खबर गरेर जानकारी गराइदिन आग्रह गर्नुभयो ।

अहिलेको अवस्थामा सुमोको भाडादर उचित रहेको भन्दै बढाउन पर्छ भनेर आफूहरुको कुनै माग नरहेको पनि उहाँले बताउनुभयो ।  

अनुगमन शून्य 

यात्रुलाई गन्तव्यमा पुग्न हतारो हुन्छ । जसरी हुन्छ छिटो पुग्न चाहन्छन् यात्रुहरु । यात्रुहरुको यही हतारोलाई मौका छोप्दै सुमोवालाहरु उनीहरुसँग बढी भन्दा बढी भाडा असुली गर्ने ध्याउन्नमा हुन्छन् । 

तर सुमोवालाहरुले यात्रुसँग कति भाडा लिँदैछन् भन्ने अनुगमन सम्बन्धित निकायले गर्ने गरेको देखिँदैन । स्थानीय प्रहरी पनि मुकदर्शक बनेर बस्ने गरेको बल्खुमा पसल सञ्चालन गरेर बस्नुभएकी राधिका तामाङ बताउनुहुन्छ ।

यातायात व्यवस्था विभाग र स्थानीय प्रहरीले सुमो व्यवसायीको सहकार्यमा अनुगमन गर्नुपर्ने हो । तर उनीहरुले यसतर्फ ध्यान नदिँदा सुमो व्यवसायी निर्धक्कका साथ यात्रुसँग बढी भाडा असुल गरिरहेका छन् ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया