टेण्डर हाल्न राेकेकाे भन्दै गाउँपालिका अध्यक्षका छोराविरुद्ध प्रशासनमा उजुरी

 भदौ १९, २०७६ बिहिबार १५:४७:३७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - टेण्डर दर्ता गर्न जाँदा गाउँपालिका अध्यक्षका छोराले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा बुधबार उजुरी परेको छ ।

त्रिवेणी गाउँपालिकाले भदौ ३ गते सूचना प्रकाशन गरेर आह्वान गरेको नदीजन्य पदार्थ उत्खननको शिलबन्दी बोलपत्र (टेण्डर) काे आह्वान गरेकाे थियाे ।

खैरावाङ कन्स्ट्रक्शन प्रालिका प्रोपराइटर डिल्लीराज खड्काले टेण्डर दर्ता गर्न जाँदा बुधबार गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोरा पोखर सिंह डाँगीसहितका व्यक्तिले आफूलाई बिहान ११ बजेर ५२ मिनेटमा नियन्त्रणमा लिएको र १२ बजेर २ मिनेटमा छोडेर ठेक्का दर्ता गर्नबाट वन्चित गरेको भन्दै उजुरी दिनुभएकाे हाे ।

अध्यक्षका छोरा डाँगी, अनमोल श्रेष्ठ, गाउँ प्रहरीमा रहेका केशव ओलीसहित ५० जना जतिले आफूलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभएकाे छ । उहाँले आफूमाथि हातपात गर्नेविरुद्ध सार्वजनिक मुद्दा चलाएर टेण्डर रद्द गर्न आग्रह पनि गर्नुभएकाे छ।

आफ्नो खैरावाङ कन्स्ट्रक्शन प्रालिसँगै स्वप्निल कन्स्ट्रक्शन प्रालिको क्रमश: १३ लाख र १५ लाखको टेण्डर दर्ता गराउन गएको र त्यसको ५ प्रतिशत रकम गाउँपलिकाको खातामा जम्मा गरिसकेको उहाँले बताउनुभयाे ।

गाउँपलिकामा दर्ता गर्न नपाएपछि उशाले शिलबन्दी बोलपत्रसहित जिल्ला प्रशासनमा निवेदन दिनुभएकाे छ । गाउँपलिका अध्यक्षका छोराले आफूले बिनाप्रतिस्पर्धा सस्तो मूल्यमा ठेक्का लिन खोजेको उहाँकाे आरोप छ ।

त्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले आफू कार्यालयमै बसेको तर खड्का १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताउनुभएकाे छ । 

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आफूकहाँ निवेदन आएको र त्यस विषयमा छानबिन गर्ने बताउनुभएकाे छ ।निवेदन आएपछि सम्बन्धित गाउँपालिका र प्रहरी कार्यालयलाइ घटनाबारे बुझ्न पत्र पठाएको उहाँले बताउनुभयाे । घटनामा दोषी देखिने जो कोहीलाइ पनि कानुन अनुसार सजाय हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया