सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट सामान खस्यो...

 भदौ २२, २०७६ आइतबार ७:४:४ | सुवास दर्नाल
unn.prixa.net

फाइल फोटो

सोलुखुम्बु – सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन् ।

केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ ।

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले आग्रह गर्नुभयो । 

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले  त्यसलाई सुधार्ने बताउनुभएको छ । ध्यान दिँदा दिँदै पनि गल्ती हुन गएको र आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने उहाँले बताउनुभयो हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाउनुभएको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया