नेकपाको केन्द्रीय कमिटीले पायो पूर्णता

 जेठ ७, २०७५ सोमबार १४:१४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ७ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनित केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ । 

त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ । 

त्यसैगरी, जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिने जनाकारी दिइएको छ । 

त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो । - रासस

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया