भानु प्रतिष्ठान संचालनका लागि सरकारले सहयाेग गर्छ : प्रधानमन्त्री अाेली

 असार २९, २०७५ शुक्रबार १५:८:१० | उज्यालो सहकर्मी

काठमाडाैं - आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  

नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा शुक्रबार प्रभातफेरी, गोष्ठी, सम्मान लगायतका विविध कार्यक्रम गरिएका छन् । विक्रम सम्वत १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सम्झनामा काठमाण्डौ लगायत देशैभर विविध कार्यक्रम गरिएकाे छ ।

भानु प्रतिष्ठान काठमाडाै‌ंले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र साहित्य अनुरागीहरु सहभागी भएका थिए । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत विशिष्ट व्यक्तिहरुकाे सहभागिता थियाे ।  

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्य मार्फत समाज सेवा र नेपालको एकिकरणमा ठूलो योगदान गरेको उल्लेख गर्दै नेपाललाई अनेक ढंगले एकतावद्ध बनाउने सवालमा उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भानुभक्तको शैली, प्रवृतिको महत्व अहिले पनि उत्तिकै रहेको भन्दै सबैले उहाँको योगदानको कदर गर्दै उहाँको शैली र भावनालाई पछ्याउनुपर्ने आवश्यकता रहेकाे औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले भानु प्रतिष्ठानको कार्यालयका लागि आवश्यक स्थान र संचालनको व्यवस्थाका सम्बन्धमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा साहित्यकार ताना शर्मा लगायतका साहित्यकारहरुलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्याए वापत सम्मान गरिएको थियो । नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान गरेका भानुभक्तलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ ।

भानुभक्तको जन्मदिनलाई भारतको सिक्किम र दार्जिलिङका नेपाली भाषीले वर्षेनि उत्सवका रुपमा मनाउने गर्दछन् । त्यसैगरी भारतबाहेक अन्य देशमा रहेका नेपालीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको सम्झनामा भानु जयन्ती मनाउने गर्दछन् । भानुभक्तका भक्तमाला, वधुशिक्षा, प्रश्नोत्तर, रामगीता लगायतका कृति चर्चित छन् ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया