नेपाल प्रहरीकाे तीन भवनकाे एकसाथ शिलान्यास

 भदौ २४, २०७६ मंगलबार १४:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको छ । 

मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकुमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निर्माणकाे शिलान्यास गर्नुभएको हो ।

२०७२ सालको महाभूकम्पले हनुमानढोकामा रहेकाे महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि त्रिपाल मुनि बसेर सेवा प्रदान गर्दे आएको थियो ।

अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । तीनवटै स्थानमा भवन निर्माणको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरश: पालना गर्न मातहतलाई निर्देशन दिनुभयो ।

जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दे उहाँले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराउनुभयो ।

प्रहरीको काम कारबाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधैँ सचेत र सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक इञ्जिनियर लोकेश चन्द्र सिंंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाइनुको साथै २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको बताउनुभयो ।

टेकुमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार  वर्ग फिटको हुने छ भने भद्रकालीमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमण्डौको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार वर्ग फिटको हुने प्रहरी नायब महानिरीक्षक सिंंहले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवनमा ७ सय ५० जना क्षमताको हलसहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन् । सबै भवनहरु भूकम्पप्रतिरोधी हुनुका साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाइने बताइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया