एसीसी यू–१९ एसिया कप: अन्तिम खेलमा नेपालले यूएईलाई फराकिलाे अन्तरले हरायाे

 भदौ २४, २०७६ मंगलबार १६:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १ सय ६० रनले पराजित गरेको छ । एसिया कपमा जितका साथ प्रतियोगिता सकेको नेपालले विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो जसमा पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भएका थिए भने चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।

त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।

सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पुर्‍याए । 

कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

जवाफमा यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए ।

यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तीन तथा रशिद खान, सूर्य तामाङ र पवन सर्राफले समान २/२ विकेट लिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया