विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

 भदौ २४, २०७६ मंगलबार १८:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनिज ताइपेईविरुद्ध ऐतिहासिक जित निकालेको छ ।

ताइपेईविरुद्ध दोस्रो पटक मैदानमा उत्रिएको नेपालले अञ्जन नायक बन्दा दुई–शून्यको जित निकाल्यो । यतिमात्र होइन प्रशिक्षक योहान कालिनले फुटबल टिम सम्हालेपछि पहिलो जित निकालेका छन् भने नेपालले नौ खेलपछि पहिलो जित निकालेको छ भने एक वर्षमा पहिलो जित हात पारेको छ ।

ताइपेईमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले गोल गर्न सफल भयो । खेलको सुरुवातमा नै गोल खाएको ताइपेइले खेलमा फर्कन निकै दबाब दिएको थियो । २२ औँ मिनेटमा ताइपेईको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

त्यसपछि ४१औं मिनेटमा फेरि ताइपेईको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै ब्लक गरेका थिए । त्यसपछि ४३ औं मिनेटमा ताइपेईले डिबक्समा अर्को गोलको अवसर सिर्जना गरेको थियो । तर पोष्ट नजिकैबाट बाहिरियो ।

४४ औं मिनेटमा नेपालका रवि पासवानको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । काउन्टरमा ताइपेईको प्रयासमा नेपालको डिफेन्सले ब्लक गर्यो । त्यसपछि पाएको कर्नरमा फेरि ताइपेई टिम चुक्न पुग्यो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२औं मिनेटमा पाएको मौकालाई पपनि नेपाली डिफेन्स लाइनले क्लियर गर्यो । यसका साथै ५४औं मिनेटमा ताइपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।

दोस्रो हाफमा एकोहोरो रुपमा पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा धावा बोले पनि डिफेन्स बलियो हुँदा आधा दर्जन प्रहारलाई रोकेको थियो । त्यसमा किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली टिमको कप्तानी समेत गरिहेका किरणले ताइपेईको प्राय प्रहारलाई असफल बनाएका थिए ।

खेलको ६२ औं मिनेटमा नेपालले दोस्रो गोल गर्यो । नेपालका लागि फेरि पनि अञ्जनले गोल गर्न सफल भए । उनले डिबक्सभित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गर्न सफल भए । त्यसपछि ६८ औं मिनेटमा नेपालले फेरि अर्को मौका पाए पनि रवि पासवानले बल कन्ट्रोल गर्न सकेनन् ।

७२ औं मिनेटमा ताइपेईले फेरि पाएको गोलको अवसरमा उसका कप्तान असफल बने ।

७६ औं मिनेटमा नेपालको विमलको प्रहारलाई ताइपेईका गोलकिपरले बचाए । दुई गोलको अग्रता बनाएपछि नेपाली टिमले आफ्नो शैली पनि परिवर्तन गरेको थियो । दोस्रो हाफको सुरुवातमा केही डिफेन्सिभ देखिएको नेपालले खेलको पछि केही आक्रामक देखिएको थियो । ८६ औं मिनेटमा नेपालले अर्को आक्रमणको अवसर बनाए पनि विमल असफल भए । 

ताइपेईले बारम्बार प्रहार गरे पनि गोल फर्काउन असफल भयो । ताइपेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि उसले जोर्डनसँग दुई–एकको हार ब्यहोरेको छ । यता नेपाल कुवेतसँग सात–शून्यले पराजित भएको थियो ।

नेपालले आउँदाे अक्टाेबर १० तारिखमा अस्ट्रेलियासँग खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया