देशभर ३५ हजार बिरुवा रोप्दै कांग्रेसले सुरु गर्‍याे दोस्रो चरणको जागरण अभियान

 भदौ २४, २०७६ मंगलबार १९:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले मंगलबार देशैभर गरेर झण्डै ३५ हजार बिरुवा रोपेको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दै कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेको हो । बीपी कोइरालाको १०६ औँ जन्मजयन्तीका दिन पारेर दोस्रो चरणको अभियान सुरु गरिएकाले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रले १ सय ६ वटै विरुवा रोपिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

अभियानका लागि कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एक जना केन्द्रीय प्रतिनिधि खटाएको छ । पर्यावरण रक्षाका लागि नयाँ सन्देश दिन पनि विरुवा रोपेर अभियान सुरुवात गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।  

असोज ७ गतेसम्म चल्ने अभियानमा कांग्रेसले सामाजिक विकृतिका मुद्दालाई प्राथमिकताका साथ उठाउनुका साथै शहीद परिवार र द्वन्द्व पीडितसँग अन्तरक्रिया गर्ने छ ।   

कांग्रेसले यसअघि गएको वैशाख २५ देखि जेठ २५ सम्म एक महिना पहिलो चरणको अभियान सञ्चालन गरेको थियो ।  
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया