संखुवासभाको सभाखोला पहिराेले थुनियो : बाह्रबिसे बजार नै जोखिममा

 भदौ २५, २०७६ बुधबार १६:५६:४५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ ।

बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताउनुभयो ।

सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको उहाँले बताउनुभयो । 

पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ । पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ ।

खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ ।  अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ ।

पहिरोले खोला थुनिएपछि बाह्रबिसे बजार र आसपासका क्षेत्रहरु उच्च जोखिममा परेका छन् । त्यसैले स्थानीय मानिसहरु समेत त्रसित बनेका छन् । थुनिएको सभाखोला एकैपटक खुलेमा बाह्रबिसे बजारका साथै तुम्लिङटारसम्म प्रत्यक्ष असर पर्ने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया