सामाजिक कामका लागि सगुन फाउण्डेशनको स्थापना

 असार २९, २०७५ शुक्रबार १६:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सोसल कमर्श प्लेटफर्म सगुनले आफ्नो तर्फबाट गरिने सामाजिक कामको लागि सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार बेलुकी अमेरिकामा एक कार्यक्रमकाबीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गर्नुभएको हो ।

सगुन फाउण्डशेन स्थापना बारेमा जानकारी दिंदै गिरीले सामाजिक अभियान र कामहरुमा जोडिने कार्यका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताउनुभयो। स्थापनासँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व शेयर समेत छुट्टयाएको छ।

सगुन आइपीओमा गएपछि शेयर मार्केटमा बिक्री गरी त्यसको प्रतिफल सगुन फाउण्डेशनले सामाजिक काममा लगाउन सक्ने गिरीले बताउनुभयो। आउँदा दिनमा सगुनको विकाससँगै सगुन फाउण्डेशनलाई सहयोग गर्ने धनराशी पनि बढाउँदै जाने गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयो।

अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल हुनेछ । संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरी फाउण्डेशनले काम शुरु गर्नेछ । स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता विकास, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ।

नेपालीहरुले शुरु गरेको सगुनको सोच र उदेश्यलाई समुदायले स्वीकार गरेकोमा धन्यवाद दिंदै गिरीले समुदायलाई पनि सगुनले गुन लगाउँदै जाने विश्वास दिलाउनुभयो । समुदायसँग जोडिने सगुनको प्रयास समुदायको सहयोगमै सफल हुने भएकोले नेपाली समुदायसँग हातेमाले गरेर जान आफूहरुलाई खुसी मिल्ने गिरीले बताउनुभयो।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुन फाउण्डेशनको स्थापनाले आउँदा दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताउनुभयो। 

विश्व बैङकमा काम गर्ने नेपाली अर्थशास्त्री प्रेम संग्रौलाले सगुनको विकास र विस्तार हुँदै जाँदा समुदायलाई समेत लाभान्वित गर्नेगरि फाउण्डेशन शुरु भएकोमा खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिनुभयो। 

सगुनले अहिले मिनी आइपीओमार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ। मिनि आइपीओको यो तेस्रो तथा अन्तिम चरणमा जुलाई २६ तारिखसम्म लगानी गर्न योग्य लगानीकर्ताले विश्वभरीबाट लगानी गर्न सक्नेछन् । 

सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ । यो अन्तिम चरण भएको कारण यस भन्दा पछाडि मिनी आइपीओमा यसरी नै लगानीको अवसर नआउने समेत सगुनले जनाएको छ ।

सोसल कमर्श प्लेटफर्म सगुनसँग अहिले २५ लाखको हाराहारीमा प्रयोगकर्ता रहेका छन्। एन्ड्रोइड एप्स सार्वजनिक भएयता सगुनको प्रयोगकर्ता बढ्दै गएका छन् ।     

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Rup Lal Gurung

    July 13, 2018, 5:12 p.m.

    राम्रो काम !

  •  0 Reply

तपाईको प्रतिक्रिया