अन्तत: कम्पनीमा दर्ता भयाे नारायणी यातायात ब्यवसायी संघ

 असार २९, २०७५ शुक्रबार १७:४३:३२ | उज्यालो सहकर्मी

मकवानपुर - देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ कम्पनीमा दर्ता भएको छ । सरकारले अषाढ मसान्तदेखि नविकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ अन्तत: मुनाफा नबाँड्ने संस्थाको रुपमा कम्पनीमा दर्ता भएकाे हाे ।  

कम्पनी रजिस्टार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम नारायणी संघ हेटौँडा दर्ता गरिएको तत्कालिन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताउनुभयाे ।

शुक्रबार संघको कार्यालयमा यातयात ब्यबसायीहरुको भेलामा आयोजित कार्यक्रममा संघमा आवद्ध २६ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी संघ दर्ता गरिएको उहाँले बताउनुभयो ।

नाफारहित संस्थाको रुपमा बिकास गर्ने र पहिलेकाे जस्तै सामाजिक संस्थाको रुपमा अगाडी बढाइने तत्कालिन संघका महासचिव सरोज खनालले बताउनुभयाे । एक अध्यक्षसहित २६ जना सञ्चालक सदस्य रहने र संघको वार्षिक साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने खनालले बताउनु भयाे ।

कम्पनी रजिस्टारको कार्यालयमा गत असार २६ गते संघ दर्ता गरिएको खनालले बताउनुभयाे । संघले यातायात व्यवसायीको विकास तथा प्रवर्द्धन गर्दै यातायात व्यवसायमा लागेका व्यवसायीहरु, व्यक्तिहरु, संस्थाहरु, कम्पनीहरुको सामुहिक हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको तत्कालिन महासचिव खनालले बताउनुभयो । सरकारले सिन्डिकेट हटाउन भन्दै सबै यातायात ब्यवसायी संघकाे नविकरण राेकेर कम्पनीमा दर्ता गर्नुपर्ने नीति लिएकाे थियाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया