सरकारको ५ बुँदे प्रतिवद्धतापछि गंगामायाले तोडिन् अनसन

 असार २९, २०७५ शुक्रबार १९:५९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारको ५ बुँदे प्रतिवद्धतापछि गंगामाया अधिकारीले अनसन स्थगित गर्नुभएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहित अधिकारकर्मीहरुको उपस्थितिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ५ बुँदे लिखित प्रतिवद्धताहरुलाई शिघ्र सम्पन्न गर्ने प्रतिवद्धतासहित अनसन तोड्न आग्रह गर्नुभएपछि सरकारको आग्रहलाई अधिकारीले स्वीकार गर्नुभएको हो । मन्त्री तामाङले प्रतिवद्धता पालना गर्ने व्यहोराको पत्र पढेर सुनाउँदै हस्ताक्षर गरेर गगांमायालाई दिनुभएको थियो । मन्त्रीले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि गगांमायाले जुस खाएर अनसन तोड्नुभएको थियो ।

यसअघि प्रधानन्यायधीश अनुपराज शर्माले न्यायको लडाईँमा आफूहरु पनि सँगै रहेको र सरकारको प्रतिवद्धता कार्यान्वयनको अनुगमन गरिने भन्दै गंगामायालाई आश्वस्त पार्नुभएको थियो । गंगामायाले तोकेका प्रतिनिधि र सरकारका प्रतिनिधिसहितको अनुगमन समिति बनाउने र त्यस समितिले प्रतिवद्धता कार्यान्वयको अनुगमन गर्ने सहमति भएको छ । सरकारले गंगामायाको उपचार खर्च व्यहोर्दै दैनिक जीवनयापनका लागि एक करोडको अक्षय कोष स्थापना गर्ने भएको छ ।

अनसन तोड्नुअघि अधिकारकर्मीसहितको मन्त्रीको टोलीलाई श्रीमान्को लासमाथि कुल्चेर न्याय माग्नुपर्ने अवस्था सिर्जना गरेर सरकारले आफूलाई फाँसी दिएको भन्दै न्याय दिलाउन माग गर्नुभयो । उहाँले सरकारले अपराधीलाई समातेर आजीवन कैद नगरेसम्म अन्न नखाने बताउनुभयो ।

गंगामायाले सरकारलाई प्रतिवद्धता पूरा गर्नका लागि जम्मा १० दिनको समय दिनुभएको छ । १० दिनभित्र प्रतिवद्धता पूरा नभए ११ औ दिन देखि फेरि अनसन सुरु गर्ने चेतावनी दिनुभएको छ । गंगामायाले आफ्नो छोरा नुरप्रसाद अधिकारीसँगको भेटघाटको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ ।
  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया