एक्सेलेन्ट एम्बाप्पे : त्यसै पेलेसँग तुलना गरिएको होइन

 असार ३०, २०७५ शनिबार ६:५६:३१ | एजेन्सी

केलियन एम्बाप्पे विश्व फुटबलबारे अपडेट भइराख्नेहरुका लागि यो नाम नयाँ होइन । तर, विश्वकपमा उनको जादु देखेपछि फुटबलका ‘मौसमी’ दर्शकहरु पनि यो नामबाट अभ्यस्त भइसकेका छन् ।
 

विश्व फुटबलमा अहिले क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेइमारहरुको दबदबा छ । तर यी सबैलाई छाडेर जारी विश्वकपमा आफ्नो स्किल र स्पीडले एम्बाप्पे फुटबलका सर्वकालीन महान खेलाडी पेलेको तुलनामा पुगेका छन् । भलै उनले आफू पेले स्तरमा पुगिनसकेको बताएका छन् यद्यपि, उनले विश्वकपमा २ गोल गर्ने किशोर खेलाडीको कीर्तिमानमा पेलेको बराबर पुगेका छन् ।
 
पेलेले सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिललाई उपाधि दिलाउन स्विडेनविरुद्ध २ गोल गरेका थिए । एमबाप्पेले फाइनलअघि नै ३ गोल गरिसकेका छन् । त्यो पनि अर्जेन्टिनाजस्तो महारथी टोलीविरुद्ध । उनैको २ निर्णायक गोलले लियोनल मेस्सी फेरि एकपटक राष्ट्रिय टोलीको जर्सीमा असफल बने ।
 
जारी विश्वकपको उपाधिका लागि एमबाप्पेको फ्रान्सले आइतबार क्रोएसियाविरुद्ध खेल्दैछ । रुस विश्वकपमा गोल गर्ने कान्छा खेलाडी बनेर मात्रै उनको चर्चा चुलिएको होइन । आफ्नो क्षमता र गतिले १९ वर्षीय एम्बाप्पे कुनै अनुभवी खेलाडी भन्दा कम देखिएका छैनन् ।
 

अर्जेन्टिनाविरुद्ध अन्तिम १६ को खेलमा २ गोल गर्नुअघि उनले समूह चरणमा पेरुविरुद्ध निर्णायक गोल गरेका थिए । विश्वकपअघि फ्रान्सको मुख्य खेलाडी एन्टोइन ग्रिजम्यान थिए । तर, एम्बाप्पेको प्रदर्शन भने उनलाई पनि माथ दिने खालको छ ।
 
यो विश्वकपमा हटकेक बनेका एमबाप्पेको खेल्ने शैली फुटबल प्रेमीका लागि अचम्मित पार्ने खालको छ । बढ्दो उमेरसँगै प्रतिभाले भरिपूर्ण एम्बाप्पेले यो स्तरसँग पुग्न धेरै मिहिनेत पनि गरेका छन् ।
 
उनको परिवार खेलकुदबाट टाढा छैन । क्यामरुन मूलका पिता अल्फ्रेड फुटबल एजेन्ट हुन् भने अल्जेरियाली मूलकी आमा फेइजा हमारी पूर्व ह्याण्डबल खेलाडी हुन् । यतिमात्र होइन उनका दाइ पनि फुटबलर नै हुन् ।
 

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोका प्रशंसक एम्बाप्पे फ्रान्सले विश्वकप जित्यो भने राष्ट्रिय हिरो हुनेछन् । उनी अन्तर्राष्ट्रिय हिरो हुनेछन् ।
 
घरमै आयोजना गरी फ्रान्सले विश्वकप उपाधि जित्दा एमबाप्पे जन्मिएकै थिएनन् । २० वर्षपछि तिनै एम्बाप्पेले फ्रान्स फुटबल र आफैलाई पनि अर्को स्तरमा पुर्याएका छन् । फ्रान्सेली युवा टोलीका सदस्य एम्बाप्पेले गएको वर्षमात्र राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
 
एम्बाप्पेको क्लब करियर एएस बोण्डीबाट सुरु भएको हो । ६ वर्षको उमेरदेखि त्यहाँ उनलाई उनकै पिताले फुटबल सिकाएका थिए । ११ वर्षको हुँदा उनी चेल्सीमा ट्रायलका लागि लण्डन पुगे । आफ्नो एकेडेमीमा राख्न चेल्सीले चासो नदिएपछि निराश बने ।
 
तर, फ्रान्सेली लिग वान क्लव मोनाकोबाट उनले अवसर पाए । अवसरमात्र होइन १६ वर्षको उमेरमा सिनियर टोलीबाट डेब्यू गरेका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन । मोनाकोबाट कान्छा व्यावसायिक फुटबलरको रुपमा आफ्नै देशका सुपरस्टार थिएरी हेनरीको कीर्तिमान उनले तोडेका हुन् ।

मोनाकोका लागि गोल गर्न भने उनले झण्डै ३ महिना कुर्नुपर्यो । सन् २०६ को फेब्रुअरी २० मा मोनाकोका लागि गोल गरेका उनले फेरि अर्को कीर्तिमान राखे– गोल गर्ने कान्छा खेलाडीका रुपमा ।
 
सन् २०१९ सम्मको सम्झौता गरेका उनी सन् २०१७ को सिजन लोनमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन गए । पीएसजीले आगामी सिजन उनलाई पूर्ण रुपमा अनुबन्ध गर्न चाहेको बताइसकेको छ । त्यसका लागि उसले १८० मिलियन पाउण्ड तिर्न तयार छ ।
 
सम्झौताले पूर्णता पाए उनी विश्वकै दोस्रो महंगा फुटबलर बन्नेछन् । पीएसजीले नै नेइमारलाई १९८ मिलियन पाउण्ड तिरेर बार्सिलोनाबाट अनुबन्ध गरेको थियो ।
 
इडिन्सन कभानी र नेइमारजस्ता विश्वस्तरीय स्टारको संगतबाट एम्बाप्पे यसरी खारिए कि त्यसको नतिजा जारी विश्वकपमा देखिराखिएको छ ।
 
सानै उमेरमा उनलाई सम्पूर्ण क्षमताले भरिएको खेलाडी भनेर चिनिन्छ । सामान्य परिवारबाट उठेका उनि अहिले मिलिनियर बनेका छन् । तर, अझै पनि धेरै सिक्ने पक्षमा नै छन् । विश्वकपमा विपक्षी डिफेण्डरलाई चक्मा दिन उनी ३८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएको रेकर्ड छ । अर्जेन्टिनाविरुद्धको दुवै गोलले उनी सबै फुटबलप्रेमीको ढुकढुकी बनेका छन् ।
 
विश्वकपपछि एम्बाप्पेलाई पूर्ण रुपमा अनुबन्ध गर्न पीएसजीलाई कठिन हुने निश्चित छ । किनभने बेलायत र स्पेनका एक से एक क्लवहरु उनका पछि लाग्नेछन् । तर, त्यसअघि उनको प्रमुख लक्ष्य र उद्देश्य भनेको डेब्यू विश्वकपमै उपाधि जित्ने हो ।

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Ajit pandit

    July 14, 2018, 7:52 a.m.

    यस्तो घमण्डी खेलाडी के काम हो ....एकपटक २ गोल गर्दैमा पेले मेस्सी जस्तो लेभलमा कहाँ पुग्न सक्छा र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया