विश्वकपमा नेपालीको हार

 असार ३०, २०७५ शनिबार ८:२४:५ | मिलन तिमिल्सिना
unn.prixa.net

रत्नपार्कबाट बस गुडाउनेबेला गुरुजीले पछिल्तिर हेरे । महिना दिनअघि हाहाहुहु गर्दै बसबाट ओर्लिएका तिनै ठिटाहरु रैछन् । खेल रसियामा, भिडन्त नेपालमा!

‘ए भाइहरु रसियाबाट गोल्डकप लिएर फर्किसकेछन्, आफू अझै रत्नपार्क डुल्दैछु’ गुरुजी हाँसे ।

‘क्या सुड्डो गुरु रैछ यार ! यहाँ पनौति लागिरहेको बेला झन् जिस्क्याउँछ’ भन्दै ठिटाहरु मुखामुख गर्न थाले ।

‘हैन बोल्दैनौ त ?अर्जेन्टिना, ब्राजिल, जर्मनी, पोर्चुगल, स्पेन सबैले जितेको हैन र ? कप बाँडेर लेराएको त होला नि’ गुरुजी अझै चम्किए ।

‘हामीले हैन अर्जेन्टिनाले जितेको नि वल्र्डकप’ व्यागमा पहेंलो जर्सी कोचेर बसेको ठिटो बोल्नेबित्तिकै अरु गलल हाँसे ।

‘ब्राजिलले नै ल्याएको होला नि’ अर्जेन्टिनाको समर्थकले काउन्टर दियो ।

‘जे भए पनि ब्राजिल अन्तिम ८ सम्म त पुग्या हो नि । तिमीहरु जस्तो अन्तिम १६ बाटै घर फर्केको हो र’ ब्राजिलको समर्थकले फुईं लगायो । 

‘खै जतिपटक लडे पनि तिमीहरुको नौटंकी नेयमारले लास्टाँ गोल हान्न सकेन त’ अर्जेन्टिनाको समर्थकले दुख्नेमै प्रहार गर्यो । ‘खुब तिमीहरुको मेस्सीले हान्यो नि । मुस्किलले जाबो १ गोल । ओलीले मेस्सीको साथ छोडे, देउवाको दह्रो समर्थन !

 

तिमीहरुको मेस्सी र उ उनीहरुको रोनाल्डो त सँगसँगै घर फर्केका । खुब हाम्रो नेइमारलाई पनि पर्खेर लैजाने भन्दैथियौ नि’ ब्राजिलको समर्थक त्यसै किन झुक्थ्यो र ।

‘हामीसँगै नफर्के पनि पछि त रुन्चे अनुहार लगाउँदै फर्कनुपरि गो त । जे होस् तिमीहरुका नेयमार र मेस्सीभन्दा त हाम्रो रोनाल्डोले बढी गोल हानिहाले । कम्ती ठान्या हो ४ गोल !’ पोर्चुगल समर्थकको बोल्ने पालो आयो ।

‘खुब गोल्डेन बुट पायो नि’ केटाहरु गलल हाँसे ।

‘के जिस्काउँछौं मेस्सीले जाबो १ गोल । नेइमारको जम्मा २ गोल । टिम हारे पनि हाम्रो रोनाल्डोले त ४ गोल हानेको हो क्यारे’ पोर्चुगलको समर्थकले थोत्रो हुन लागेको जर्सी तन्कायो ।

‘हो हो रोनाल्डोले गोल्डेन बुट पाउनुपर्ने हो । अन्तिम १६ बाटै बिदा भए पनि रोनाल्डोलाई चाहिँ विजेता घोषणा गर्नुपर्यो भन्नुपर्छ’ जर्मनीको समर्थक हाँस्यो ।

‘ए जर्मनीको मान्छेलाई बोल्न अझै लाज छैन ? समूह चरणबाटै बाहिरिएको विश्वविजेता भन्ने टिमको यस्तो फूर्ति ?’ अर्जेन्टिनाको समर्थकले फेरि काउन्टर हान्यो ।

‘यसपालि लकले साथ दिएन नि । तैपनि हाम्रो जर्मनीले जति विश्वकपको उपाधि तिमीहरुका अर्जेन्टिनाले जित्या छैन त । हामी चार तारा । तिमीहरु दुई तारा’ जर्मनीको समर्थकले सजिलै हार मानेन ।

‘त्यही चारतारा भएर त सुरुमै हार्नुपर्यो नि । यसपालि चारताराको भाग्य छैन भन्ने कुरो पहिल्यै थाहा पाउनुपर्ने हो नि’ स्पेनको समर्थकले खेलमा राजनीति जोड्यो ।

‘जाबो बल्लतल्ल एकपटक, दुईपटक, चारपटक जित्नेले नि के फुर्ति गर्नु’ ब्राजिलको समर्थकले फेरि फूर्ति लगायो, ‘हामीले जस्तो ५ पटक कसैले जितेको छ ?’

‘५ पटक जितेर के गर्नु ? लास्टमा बेल्जियमले जिल पारिहाल्यो । बेल्जियम त हाम्रो टिम’ अर्जेन्टिनाको समर्थकले सत्य बोल्यो । 
‘हो हो जर्मनी घर फर्किएपछि हामीले पनि बेल्जियमलाई समर्थन गरेको नि । ब्राजिललाई हराउँदा के स्वाद पर्यो भने’ जर्मनीको समर्थकले पनि आफ्नो कुरा थप्यो ।

‘तिमीहरुले पनौती लगाएर पो रैछ बेल्जियम फ्रान्ससँग हारेको ?’ पोर्चुगलको समर्थक बोल्यो ।

‘तिमीहरु जस्तो अन्तिम १६ बाटै हार्या हो र ? इज्जतका साथ हारेको ? यसलाई त हारेको पनि भन्न मिल्दैन ?’स्पेनको समर्थकले फूर्ति लगायो ।

‘तँ चाहिँ कहिलेदेखि बेल्जियमको भइस् नि ?’ अर्कोले सोध्यो ।

‘जब स्पेन अन्तिम १६ बाट बाहिरियो, त्यसपछि बेल्जियमको भइयो नि’ उसले वास्तविकता सुनायो ।

‘हामी त पहिलेदेखि नै फ्रान्सको समर्थक, हाम्रो एम्बाप्पेलाई चिनेका छौ ?’ सँगै रहेको अर्को ठिटोले भाले चिन्ह भएको जर्सी तन्कायो ।

‘त्यस्ता फ्रान्स र क्रोयसियाको त नाम लिन पनि मन छैन, हामीलाई हराउने बजियाहरु’ अर्जेन्टिनाको समर्थकले मुन्टो बटार्यो ।

‘मन नपरेर के गर्छस् त, यी दुईमध्ये एउटाले जित्ने हो क्यारे वल्डकप ?’ अर्को बोल्यो ।

‘हैन नेपालमा क्रोएसियाको जर्सी पाइँदैन भन्या, त्यो लाउनुपर्ला जस्तो छ एक दुई दिन’ पुरानो जर्सी हेर्दै अर्कोले भन्यो ।

‘पाइए पनि भन्दिन । लास्टाँ हाम्रो इंग्ल्याण्डलाई हराइहाल्यो’ अर्को बोल्यो ।

‘अझै फाल्या छैनस् त्यो जर्सी ? फाल्दे भाइ काम छैन !’ पहिल्यै हारिसकेको टिमको समर्थकले ईंग्ल्याण्डको समर्थकलाई जिस्क्यायो ।

‘तिमीहरु उहिल्यैदेखि हार्नेहरु अझै जोगीको जस्तो पहेंलो र डिडीसी दूधको खोलजस्तो टाटेपाटे धर्से जर्सी लगाएर हिँड्या छौं । हामी त अस्ति भर्खर हार्या, त्यो पनि हार्या भन्न मिल्दैन । अनि किन फाल्नु, शानसँग लगाईन्छ’ईंग्ल्याण्डको जर्सी लगाउनेले जवाफ फर्कायो ।

‘पहेंलो वालालाई त अझै काम लाग्छ है जर्सी,नफाल । साउनमा बोलबम जान हुन्छ’ अर्जेन्टिनाको समर्थकले फेरि ब्राजिलको समर्थकलाई काउन्टर दियो ।

‘जे भए पनि तिमीहरुजस्तो रुन्चे चाहिँ हैन है हामी । अर्जेन्टिनाले हार्दा डाँको छोडेर रोएका होइनौ ? पूजापाठ पनि गर्या थिए । पछि श्राद्ध पनि गरे

होला.....हाहाहा...’ ब्राजिलका समर्थक मुर्छा परेर हाँस्यो । 

‘तिमीहरुका नेइमारको पनि अनुहार हेर्या हो । कहीँ नभएको रुन्चे, नाटक खेल्न बोलाउनुपर्ने’ अर्जेन्टिनाको समर्थक किन झुक्थ्यो ।

‘ल धेरै नखोक । यसपालि जे जे भएपनि हाम्रो ब्राजिलले जति ५ पटक जितेर देखाउने अहिलेसम्म कोही भएनन् । यसमै गर्व छ हामीलाई’ ब्राजिलको समर्थक आत्मरतीमा रमाउन खोज्यो ।

‘अर्कोपटक हामीले एक तारा थपेर तिमीहरुलाई भेटाउँछौं’ जर्मनीको समर्थकले फूर्ति लायो ।

‘हामी झन् एकैपटक चार तारा थपेर अर्कोपटक तिमीहरुलाई जित्छौं’ अर्जेन्टिनाको समर्थकले झन् बढी फूर्ति गर्यो ।

‘भो अर्कोपटक त हाम्रो रोनाल्डोले कसैलाई जित्न दिंदैनन्’ पोर्चुगलका समर्थकले औंला ठाडो पार्यो ।

‘अर्कोपटक हाम्रो पालो हो, अहिल्यदैखि बुक गरिसक्यौं’ स्पेनको समर्थक पनि चुप लागेर बस्न सकेन ।

‘अर्कोपटकको के कुरा ?अहिलेको कुरा गर न, हामीले लैजान्छौं वल्डकपको उपाधी’ फ्रान्सको समर्थकले भाले जर्सी तन्कायो ।

‘यसपालि नयाँलाई हो भाइ, क्रोएसियाले लान्छ उपाधि’ ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, समर्थकले एकै स्वरमा भन्यो ।

‘ए हरुवाहरु चुप लाग, तिमीहरुले क्रोएसियालाई पनौती लगाउन खोज्या हो ? तिमीहरुले समर्थन नगर, हार्न सक्छ’ क्रोएसियाका समर्थक उफ्रियो ।

‘हैन हैन फ्रान्स ।’

‘हैन क्रोएसिया ।.............’

केटाहरुको हल्ला चल्दै थियो । गुरुजीले घ्याच्च बस रोके । वल्डकप सुरु हुने बेला त्यही बस चढेका बेसार बाजे बसमा उक्लिए । उनी बेसार बेचेर आएको पैसाले मसला किनेर घर फर्कन लागेका रहेछन् ।

‘ए भाइहरु पो । अब त पहेंलै भएर बेसार बेच्न मिल्छ हैन त ? लात्ते भकुण्डोको मारमुंग्री सकियो ? भाइहरु त जम्मैले हार्यौ क्यारे है । मलाई नि दुःख लाग्या छ भन्या, यसपालिको वल्डकपमा सबै नेपालीले हारे’ सिटमा बस्न नभ्याउँदै बाजेले मुखको तीतो पोखे ।

‘सुड्डोले समेत फुटबल बुझिसकेछ यार’ ठिटाहरुले कानेखुसी गरे ।

‘ल सुड्डोसित धेरै बोल्यो भने आफैंलाई लाज हुन्छ । झरौं यहीँ । गुरुजी एकछिन है हामी झर्छौं’ ठिटाहरु जर्‍याकजुरुक उठे ।

‘ल ल त्यहाँ ढोकामा लेखेको पढेर मात्र झरौं है’ अघिसम्म चुप लागेर बसेका गुरुजी बोले । 

‘के लेख्या छ र ? ए तपाईँको सामान छुट्यो कि ....... हाम्रो के सामान छ र छुट्नु ?’ ढोकामाथि लेखेको कुरा पढेर ठिटाहरु पछिल्तिर फर्किए ।

‘उ क्या त कप, वल्डकप’ गुरुजी मुर्छा परेर हाँसे ।

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया